२०८३ भाद्र ४, बिहीबार
@ ज्ञानेन्द्र पाेख्रेल,पश्चिम नेपाल प्रतिनिधि
श्रीखबर/नेपालगञ्ज। लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा आगामी भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ।निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले यात्रुको माग बढेसँगै नियमित उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ।
बुद्ध एयर नेपालगञ्जका प्रमुख विनितविक्रम शाहका अनुसार नेपालगञ्ज हुँदै भारतको उत्तर प्रदेशबाट आउने यात्रु तथा धार्मिक पर्यटकलाई पोखरासँग सिधा जोड्ने यस उडानको माग पछिल्लो समय बढ्दै गएको छ। सोही कारण सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो।
यसअघि गत जेठ ५ गतेदेखि नेपालगञ्ज–पोखरा उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु तथा इन्धन खर्च बढी भएकाले उडान रोकिएको शाहले जानकारी दिए। पछिल्लो समय धार्मिक पर्यटकको आवागमन बढ्नुका साथै यात्रुको मागसमेत बढेपछि सेवा पुनः सञ्चालन गर्न लागिएको हो।
बुद्ध एयरका अनुसार अब आइतबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान हुनेछ। उडानका लागि टिकट बुकिङसमेत खुला गरिएको जनाइएको छ। नेपालगञ्ज–पोखरा हवाई सेवा पुनः सञ्चालन हुने भएपछि बाँकेसहित यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन्।
प्रत्यक्ष हवाई सम्पर्कले नेपालगञ्ज, बाँके तथा पश्चिम नेपालबाट पोखरा जाने यात्रुलाई सहज हुने र पोखराको पर्यटनसँग पश्चिम नेपाल तथा सीमावर्ती भारतीय क्षेत्रको सम्बन्ध थप बलियो बन्ने अपेक्षा गरिएको छ।




