२०८३ साउन २४, आइतबार
श्रीखबर/ चितवन।रोटरी डिस्ट्रिक्ट ३२९२ रिजन–६ अन्तर्गत रहेका १६ वटा रोटरी क्लबलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आयोजना हुन लागेको ICT Workshop को पूर्वतयारी अनलाइन बैठक सम्पन्न भएको छ।
सूचना प्रविधिको बढ्दो प्रयोगसँगै रोटरीका गतिविधि, अभिलेख व्यवस्थापन, डिजिटल सञ्चार तथा My Rotary र District Portal को प्रभावकारी प्रयोगलाई थप व्यवस्थित बनाउने उद्देश्यले आयोजना गर्न लागिएको Workshop को तयारीका विषयमा बैठकमा विस्तृत छलफल भएको हो।
Google Meet मार्फत सम्पन्न पूर्वतयारी बैठकको अध्यक्षता रोटरी डिस्ट्रिक्ट ३२९२ IT कमिटीका चेयर रो. राज श्रेष्ठले गर्नुभएको थियो।बैठकको सञ्चालन रिजनल चेयर एवं चितवन रोटरी क्लबका पूर्वअध्यक्ष रो. भानु शर्माले गर्नुभएको थियो।
बैठकमा असिस्टेन्ट गभर्नर रो. डा. रेबन्त भट्टराई, रो. भरत पोख्रेल र रो. सुमन श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, विभिन्न रोटरी क्लबका अध्यक्षहरूको सहभागिता रहेको बैठकमा क्लब सञ्चालनका क्रममा देखिएका सूचना प्रविधिसम्बन्धी समस्या, डिजिटल प्रणालीको प्रयोग तथा प्रस्तावित ICT Workshop को आवश्यकता र प्रभावकारिताबारे छलफल भएको थियो।
बैठकमा सहभागी क्लब अध्यक्षहरूले आफ्ना क्लबमा सूचना प्रविधिको प्रयोगका क्रममा देखिएका समस्या तथा आवश्यकताबारे धारणा राख्दै Workshop लाई व्यवहारिक र क्लबका लागि प्रत्यक्ष उपयोगी बनाउन सुझाव दिएका थिए।
यसैगरी, IT कमिटीका को–चेयर रोटेरियन निर्मल ढकालले सूचना प्रविधिको प्रभावकारी प्रयोगले रोटरीका गतिविधिलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सक्ने भन्दै Workshop को सान्दर्भिकतामाथि प्रकाश पार्नुभएको थियो।
साउन ३० गते ICT Workshop बैठकले आगामी २०८३ साउन ३० गते (१५ अगस्ट २०२६), दिउँसो १ बजे ICT Workshop आयोजना गर्ने निर्णय गरेको छ।
Workshop चितवन रोटरी क्लबको सभाहलमा सञ्चालन हुनेछ। Workshop मा रिजन–६ अन्तर्गतका सम्पूर्ण रोटरी क्लबका अध्यक्ष तथा सचिवहरूको अनिवार्य सहभागिता रहनेछ। त्यसैगरी कार्यालय सचिव, कार्यसमिति पदाधिकारी तथा सूचना प्रविधिमा रुचि भएका अन्य सदस्यहरूलाई समेत कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
कार्यक्रममा सहभागी हुनेहरूले ल्यापटप अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने आयोजकले जनाएको छ। साथै, कार्यक्रमस्थलमा आउनुअघि नै My Rotary र District Portal मा Login गरेर आउनुपर्ने व्यवस्था गरिएको छ।
डिजिटल युगमा रोटरीको क्षमता अभिवृद्धितर्फ कदम रोटरीका क्लबहरूलाई प्रविधिसँग थप जोड्दै डिजिटल प्रणालीको प्रयोगमा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको ICT Workshop लाई रिजन–६ ले महत्वपूर्ण कार्यक्रमका रूपमा लिएको छ।
‘Connect, Collaborate, Innovate and Create Impact’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको Workshop ले रोटरीका गतिविधिलाई डिजिटल प्रविधिमार्फत थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




