![]()
२०८२ माघ २२, बिहीबार
@ कृष्ण खनाल
श्रीखबर/भरतपुर, नेपालको डेरी उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै उत्पादन, उद्यमशीलता र निर्यात सम्भावना विस्तार गर्ने उद्देश्यसहित चितवनमा ‘अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२’ आयोजना हुने भएको छ।
भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्रमा माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको चितवन जिल्ला दुग्ध उत्पादनक सहकारी सँघका अध्यक्ष किशाेर बगालले जानकारी दिनुभयो ।
चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रदर्शनी ‘डेरी उद्योगमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नारासहित आयोजना गर्न लागिएको हो।

गत वर्ष राष्ट्रिय स्तरमा सुरु गरिएको डेरी प्रदर्शनीलाई यस वर्ष नेपालकै इतिहासमै पहिलाेपटक अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।
नेपालको ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको डेरी उद्योगले लाखौं किसानको जीविकोपार्जन धानेको छ। प्रदर्शनीले दुग्ध उत्पादनलाई व्यवसायिक बनाउने, औद्योगिक उत्पादनमा प्रविधिको प्रयोग बढाउने तथा किसान, उद्योगी र उद्यमीलाई नयाँ अवसरसँग जोड्ने लक्ष्य राखेको छ।
प्रदर्शनीमार्फत साना किसानदेखि उद्योगी व्यवसायीसम्मलाई व्यावसायिक सञ्जाल विस्तार, तालिम, अनुदान तथा उद्यमशीलताको अवसर प्रदान गरिनेछ। साथै उपभोक्तालाई दुग्धजन्य उत्पादनको गुणस्तर, महत्व र फाइदाबारे जानकारी गराउँदै नयाँ उत्पादन विकास, ब्रान्डिङ र सहकारीलाई औद्योगिक उत्पादनतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।
डेरी उद्योगको उत्पादकत्व वृद्धि, नीति निर्माणमा सुझाव तथा दुग्धजन्य उत्पादनको निर्यात सम्भावना विस्तार पनि प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ।
प्रदर्शनी अवधिमा विविध कार्यक्रम आयोजना गरिनेछन्। दोस्रो दिन ‘मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व’ विषयक वक्तृत्वकला प्रतियोगिता हुनेछ भने तेस्रो दिन दुग्ध उत्पादनको वर्तमान अवस्था, बजार समस्या र समाधानका उपायबारे कार्यपत्र प्रस्तुति तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन हुनेछ।
चौथो दिन दुग्ध क्षेत्रसँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगिता, उन्नत जातका गाई प्रदर्शन तथा सातै प्रदेशबाट उत्कृष्ट दुग्ध उत्पादक सहकारीलाई सम्मान गरिने कार्यक्रम तय गरिएको छ। साथै प्रदर्शनी अवधिभर डेरी फुड फेस्टिभल पनि सञ्चालन गरिनेछ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा नेपालका डेरी उद्योगी, व्यवसायिक किसान, लगानीकर्ता, सरकारी नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी, बैंक तथा बीमा कम्पनीका प्रतिनिधि लगायत करिब ५० हजार अवलोकनकर्ताको सहभागिता रहने लक्ष्य राखिएको छ।
प्रदर्शनीमा भारतका Trimurti Plant Sciences Pvt. Ltd., Fillpack Technology, Ranup Crop Care India, Gyan Dhara Industries Pvt Ltd, Goma, KODU Distributor Pvt. Ltd. लगायत अन्तर्राष्ट्रिय कम्पनीका स्टल रहनेछन्।
यसका साथै डेरी प्रोसेसिङ मेशिनरी, पशु आहार, पशु औषधी, प्याकेजिङ उद्योग, डेरी सफ्टवेयर, स्टार्टअप प्याभिलियन, बैंक तथा बीमा कम्पनीका स्टल समेत रहनेछन्।
आयोजकका अनुसार प्रदर्शनीले प्रदर्शकलाई नयाँ उत्पादन तथा सेवाको प्रत्यक्ष प्रदर्शन, बजार अनुसन्धान, व्यापार विस्तार, ब्रान्ड प्रवर्द्धन, उपभोक्ता प्रतिक्रिया, प्रविधि हस्तान्तरण तथा स्थानीय र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ। साथै डेरी क्षेत्रका नीति निर्माता र सरोकारवालासँग प्रत्यक्ष समन्वय गर्ने अवसरसमेत उपलब्ध गराउने विश्वास गरिएको छ।




