२०८२ माघ १६, शुक्रबार
श्रीखबर/ चितवन।वर्दघाट उद्योग वाणिज्य संघको अध्ययन तथा अनुगमन भ्रमण टोलीलाई चितवन उद्योग वाणिज्य संघले शुक्रबार आफ्नै सचिवालयमा स्वागत तथा छलफल कार्यक्रममार्फत आतिथ्य गरेको छ।
चितवन उद्योग वाणिज्य संघको आयोजनामा वर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको नेतृत्वमा चितवन आएको भ्रमण टोलीसँग आपसी अनुभव आदान–प्रदान तथा संस्थागत सहकार्यका विषयमा छलफल गरिएको हो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले संघको स्थापना कालदेखि हालसम्मका गतिविधि, उपलब्धि र भावी योजनाबारे जानकारी गराउनुभयो। उहाँले उद्योग तथा व्यापार प्रवर्द्धनमा आपसी सहकार्यको आवश्यकता औँल्याउनुभयो।त्यस अवसरमा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले वर्दघाट उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघको आउँदो अधिवेशनमा चितवन उद्योग वाणिज्य संघको उम्मेदवारलाई सहयोग गर्न अपिल गर्नुभयो।
कार्यक्रममा वर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले चितवन उद्योग वाणिज्य संघले प्रदान गरेको आतिथ्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा चितवन उद्योग वाणिज्य संघसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। साथै उहाँले नेपाल उद्योग वाणिज्य महासंघको आउँदो अधिवेशनमा चितवन उद्योग वाणिज्य संघको निर्णयलाई समर्थन गर्ने स्पष्ट गर्नुभयो।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्षहरू नारायण प्रधान, जनक पौडेल र राजन पिया, कार्यकारी निर्देशक निलबहादुर के.सी., कार्यसमिति सदस्यहरू तथा वर्दघाट उद्योग वाणिज्य संघको भ्रमण टोलीका सदस्यहरूको सहभागिता रहेको थियो।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले गर्नुभएको थियो।




