२०८२ माघ ८,बिहीबार

@ कृष्ण खनाल
श्रीखबर/ देश निर्वाचनमा होमिएको छ । तर यो चुनाव जनताको होइन, नेतृत्वको अस्तित्व जोगाउने अन्तिम खेल जस्तो देखिँदैछ । उम्मेदवार सूची र चुनाव चिन्ह बाँडिँदै गर्दा सत्ताको असली चरित्र नांगिँदै गएको छ ।

निर्वाचन गराउन बनेको भनिएको जेनजी सरकारका मन्त्रीहरू नै राजीनामा दिएर उम्मेदवार बने । यसले देखायो—सरकार सेवा गर्न होइन, चुनाव जित्न बनेको रहेछ ।
छँदाछँदैका मेयर बालेन र रेणु संसदतर्फ दौडिनु व्यक्तिगत चाहना मात्रै होइन । यो संघीयताको हार र केन्द्रमुखी सत्ताको जित हो ।
यदि स्थानीय सरकार बलियो हुन्थ्यो भने, किन सबै सिंहदरबारतिरै दौडिन्थे ? जेनजी आन्दोलनका नाममा जलेका संरचनाको जिम्मा कसले लिन्छ ? नेतृत्व मौन छ, दलहरू चुप छन्, उम्मेदवारहरू भावनामा खेलिरहेका छन् ।
शेरबहादुर देउवा अपमानको घेरामा छन् । पुरानो सत्ता–राजनीति जेनजी लहर र बालेनको प्रतीकात्मक आक्रमणबाट हल्लिएको छ । तर विडम्बना के छ भने—जेनजीको नाममा पुरानै अनुहारहरू फेरि मैदानमा छन् ।
हारको त्रासले नेताहरू आफ्नै क्षेत्र छोड्दै सुरक्षित सिट खोजिरहेका छन् । स्थापित नेताका लागि यो चुनाव फलामको चिउरा बनेको छ ।
करोडौँ खर्च हुने चुनावले कसैलाई मालामाल बनाउनेछ, कसैलाई विस्थापित । पैसा र सत्ता मिलेको यो खेलमा लोकतन्त्र किनारा लाग्दैछ । यो चुनाव परिवर्तनको सुरुवात हो कि केवल पात्र फेरिने खेल ? निर्णय मतपेटिकाले गर्नेछ ।
तर लोकतन्त्रको असली परीक्षा परिणामपछि नेताहरूले देखाउने चरित्रले हुनेछ ।



