
२०८२ पुष २५, शुक्रबार
श्रीखबर/नेपाल कृषि सहकारी केन्द्रीय सङ्घको ५औँ अधिवेशनबाट बर्दियाका अनुभवी सहकारी अभियान्ता हरिबहादुर अधिकारी केन्द्रीय सञ्चालक सदस्यमा निर्वाचित हुनुभएको छ।
पुष २४ र २५ गते काठमाडौंमा सम्पन्न अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट अधिकारी निर्वाचित हुनुभएको हो।
बढैयाताल गाउँपालिका–८, सितला बजार बर्दियाका अधिकारी लामो समयदेखि सहकारी अभियानमा सक्रिय रहँदै आउनुभएको सहकारीकर्मी हुन्। स्थानीयदेखि राष्ट्रिय तहसम्मको अनुभव बोकेका अधिकारीको निर्वाचित हुनु कृषि सहकारी क्षेत्रका लागि सकारात्मक सन्देशका रूपमा हेरिएको छ।

सञ्चालक सदस्यमा निर्वाचित भएसँगै श्रीखबरसँगको कुराकानीमा अधिकारीले भन्नुभयो, “लामो समय सहकारी अभियानमा क्रियाशील रहँदा सङ्कलन गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवलाई अब सहकारीमार्फत योजनाबद्ध ढंगले कार्यान्वयन गर्ने फेरिपनि जिम्मेवारी पाएको छु। अझै धेरै गर्न बाँकी छ।” उहाँले देश कृषिप्रधान भए पनि कृषिलाई आधुनिकिकरण गर्दै उत्पादनलाई बजार मूल्यसँग जोड्नु मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो।
“कृषि उत्पादनलाई भ्यालु चेन्ज (Value Chain) मा कसरी रूपान्तरण गर्ने, किसानको उत्पादनलाई कसरी मूल्यमा परिणत गर्ने भन्ने विषयमै मेरो ध्यान केन्द्रित हुनेछ,” अधिकारीले बताउनुभयो।
अधिवेशनमा देशभरका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाउँदै मताधिकार प्रयोग गरेको स्मरण गर्दै अधिकारीले विजयी गराउने सम्पूर्ण सदस्यहरूप्रति आभार प्रकट गर्नुभयो।
“किसानको हित, सहकारीको सुदृढीकरण र कृषि अर्थतन्त्रको विकासका लागि अझ बढी सक्रिय भएर काम गर्नेछु,” उहाँको भनाइ छ। कृषि सहकारी किन आवश्यक ? कृषि सहकारी किसानलाई संगठित गर्दै उत्पादन, संकलन, प्रशोधन र बजारिकरणसम्म जोड्ने महत्वपूर्ण माध्यम हो।
साना तथा मझौला किसानका लागि सहकारीले पूँजी, प्रविधि, तालिम र बजार पहुँच सुनिश्चित गर्दै आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माणमा योगदान पुर्याउँदै आएको छ।
नेपाल कृषि सहकारी केन्द्रीय सङ्घको यो १८औँ वार्षिक साधारणसभा तथा ५औँ अधिवेशनले सहकारी क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र उत्पादनमुखी बनाउने दिशामा महत्वपूर्ण निर्णयहरू गरेको बताइएको छ।
हरि अधिकारीजस्ता अनुभवी सहकारी अभियान्ताको नेतृत्वले कृषि सहकारीलाई किसानमैत्री, परिणाममुखी र मूल्य श्रृंखलामा केन्द्रित बनाउने अपेक्षा गरिएको छ।





