२०८२ पुष १६, बुधबार
श्रीखबर/नवलपुर,यहित पुष २५ गतेदेखि स्थानीय उत्पादनलाई उचित मूल्यमा बजार उपलब्ध गराउने र उपभोक्तालाई गुणस्तरीय वस्तु सहज रूपमा उपलब्ध गराउने वातावरण सृजनागर्ने मूल उद्देश्यका साथ नारायणी नदी किनारमा चाैथाे गैँडाकाेट महाेत्सव हुने भएको छ।
गैँडाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव आयोजक समिति संयोजक छवि कडेलले महोत्सवको मूल उद्देश्य किसानले उत्पादन गरेका वस्तुहरूलाई उपयुक्त बजार र उपभोक्तासँग जोड्नु रहेको स्पष्ट गर्नुभयो।

उहाँका अनुसार मास, गहत, अदुवा, सुन्तला जस्ता कृषि उत्पादनले हालसम्म अपेक्षित मूल्य र बजार नपाइरहेको अवस्था छ भने उपभोक्ताले पनि गुणस्तरीय वस्तु सजिलै प्राप्त गर्न सकेका छैनन्।
“यसपटक महोत्सवमार्फत कृषि उत्पादनको मूल्य कसरी सकारात्मक रूपमा बढाउन सकिन्छ भन्नेमा हामी विशेष रूपमा केन्द्रित छौँ,” संयोजक कँडेलले भन्नुभयो।
महोत्सवमा परम्परागत किनमेल, खेलकुद तथा सांस्कृतिक कार्यक्रमसँगै किसानका उत्पादनको प्रदर्शनी र बजार प्रवर्द्धनलाई प्राथमिकता दिइने उहाँको भनाइ छ।
महोत्सवका प्रचार–प्रसार उपसमिति संयोजक सालिकराम सापकोटाका अनुसार यस वर्षको महोत्सव प्रवेशद्वार अत्यन्त आकर्षक बनाइनेछ। साथै महोत्सवको मुख्य आकर्षणका रूपमा ‘जलपरी’ प्रस्तुत गरिने जानकारी दिइएको छ।
स्थानीय उत्पादन, किसान र उपभोक्ताबीचको दूरी घटाउँदै आत्मनिर्भर अर्थतन्त्रतर्फ योगदान दिने लक्ष्यसहित आयोजना हुन लागेको गैँडाकोट महोत्सवले कृषि तथा स्थानीय उद्योग प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
महाेत्सवमा २ सय ५० बढी स्टल रहनेछन् । माघ १० गतेसम्म सञ्चालन हुने महाेत्सवकाे मुख्य उद्देश्य सुस्ताएकाे अर्थबजारलाई चलायमान गराउनु रहेकाे आयाेजकले जनाएको छ।




