२०८२ कार्तिक १५, शनिबार

@ कृष्ण खनाल
नेपालको राजनीतिक यात्रा कहिल्यै सीधा रेखाबाट चलेकाे पाइदैन। निरन्तर घुमाउरो, भावनात्मक र रणनीतिक मोडहरूबाट जेलिदै यहाँसम्म आइपुगेको छ।
जनयुद्धको राप, लोकतान्त्रिक आन्दोलनको ताप र सत्ता–समीकरणको आपसी अदला–बदलीबीच कतिपय सम्बन्धहरू यस्ता बने, जसले देशको राजनीतिक दिशा नै मोडिदिए। त्यस्तै एक उदाहरण हुन्— बामदेव गौतम र प्रचण्ड (पुष्पकमल दाहाल) बीचको सम्बन्ध।

युद्ध र संवादको समानान्तर यात्रा द्वन्द्वकालको समय थियो। माओवादीको जनयुद्ध उत्कर्षमा पुग्दै थियो, अनि राज्य शक्तिको नियन्त्रणमा रहेका पार्टीहरू निरन्तर प्रतिरोधको मनस्थितिमा थिए। तर, त्यही समयमा पनि बामदेव गौतम र प्रचण्डबीच गोप्य तर निरन्तर सम्पर्क भइरहेका थिए — कहिले फोनमार्फत, कहिले सन्देश मार्फत।
सँविधानसभाकाे पहिलो निर्वाचनकाे दाैरानमा त दैनिक दर्जनौं खबरहरूका विषयमा सम्पर्कमा रहन्थे। राजनीतिक वैमनस्यता सतहमा देखिन्थ्यो, तर भित्री तहमा “बामपन्थी एकता” को सम्भावना माथि निरन्तर वार्ता चलाउँथे प्रचण्ड – बामदेव। बामदेव गौतम बारम्बार प्रचण्डसँग फोनमा भन्थे।

“मैले नै बाह्रबुँदे सहमति गराएको हुँ, पछि हामी एउटै पार्टीमा जानेछौं।” त्यो वाक्य राजनीतिक रूपमा केवल अनुमान थिएन— त्यो एक सम्भावित ‘रेड–लाइन’ थियो, जसले माओवादी र एमालेबीचको भविष्यको संयोजन संकेत गर्थ्यो। यसै भन्थे बामदेव बर्दिया पुगेर।
# चुनावी मैदानमा लुकेका खेल
संविधानसभा चुनावको घोषणा भएपछि मैदानमा दुई धार स्पष्ट भए— संघर्षको इतिहास बोकेको माओवादी र संस्थागत संरचना जमाएका एमाले। तर, भित्री तहमा मिश्रित मनोविज्ञान चलिरहेको थियो, बामदेव र प्रचण्डकाे ।

बर्दियाको कण्ठपुर स्थित विद्याज्योति माविमा एमालेका चुनावी एजेन्ट तालिम लिनेमा माओवादी पृष्ठभूमिका करिब २५० भन्दा बढी कार्यकर्ता एमालेको छद्मभेषमा सहभागी थिए। पहिलाे सँविधान सभाकाे चुनावमा । उनी र उनका विश्वास पात्रहरु याे मान्न तयार थिएनन् ।
सहिद आयाम( ज्ञामप्रसाद चालिसेकी पत्नी सरलासँगकाे प्रतिस्पर्धालाई बामदेव प्रतिस्पर्धा नै मान्दैनथे । १० हजार जतिले जितिन्छ चुनाव भनेर त उनी प्रचण्डलाई नै भन्दथे।
सूचनाको यो तह पत्रकारले थाहा पाउँदा पनि लेख्न सक्ने स्थिति थिएन। भनेकाे पत्याउने कुरै भएन ।पत्रकारिताको धर्मले सत्य बोल्न अनुमति दिन्छ, तर कहिलेकाहीँ समय र सन्दर्भले मौनता माग्छ। त्यहि माैनतामा अडिएकाे थिएँ म ।
प्रचार विभाग र प्रेस चाैतारीकाे जिम्मेवारीमा रहेका कारण समाचार पार्टीमा सँप्रेषण गर्नु मेरालागि नैतिक कर्तव्य भएपनि सचेत पत्रकारकाे नाताले नैतिक पक्ष बचाउनु मेरालागि उत्ति नै महत्त्व थियाे ।
बामदेवले गर्वका साथ भनेका थिए— “१२ हजार मतले जित्छु।” तर, नतिजाले देखायो— ११ हजार मतले हार।
चुनाव हारेपछि- कसरी हारियाे चुनाव भनेर चुडामणि रानाभाटकाे आँगनमा भेला गरियाे कार्यकर्ता। सँगै खाना खाने समयमा मेरै घरमा बामदेव गाैतमकी श्रीमती तर्फ फर्किएर बामदेबलाई भनिदिएँ `बामदेवले गर्दा चुनाव हारियाे´।
त्यो हार केवल व्यक्तिगत पराजय थिएन, त्यो बामदेवको राजनीतिक अध्यायमा एउटा नयाँ मोड थियो।
प्रचण्डले पछि चुनाव हारेका उनलाई उपप्रधानमन्त्री र गृहजस्तो शक्तिशाली मन्त्रालय दिए— “राजनीतिक प्रतिद्वन्द्वी होइन, उपयोगी साझेदार” को रूपमा। एमालेले बामदेब गाैतमलाई उसैबेलदेखि गुमाईसकेकाे थियाे जतिखेरबाट एमालेले उनलाई प्रचण्डको पहिलाे प्रधानमन्त्रीकेा उपप्रधानमन्त्री बनाएकाे थियाे ।

# बामदेवको बामपन्थी यात्राको वृत्तान्त
एमाले–माओवादी एकता, त्यसपछि विभाजन, र अहिले समाजवादी केन्द्र प्रवेश— बामदेवको राजनीतिक यात्रा लगातार पुनर्निर्माण र पुनःअवस्थित हुने यात्राजस्तै छ। उनले प्रचण्डसँगको पुरानो सम्बन्धलाई पुनर्जीवित गर्दै अहिले समाजवादी हुँदै माओवादी केन्द्रसम्म नजिकिन खोजेका छन्। तर, यसपटक परिस्थिति भिन्न छ।

झलनाथ खनाल र घनश्याम भुषालले स्पष्ट भनेका छन्— “हामी माओवादीसँग होइन, विचारसँग एकता गर्छौं।” त्यसैले बामदेवको यो नवीन आकांक्षा—“प्रचण्डपछिको माओवादी धुरी” बन्ने— पहिलो गासमै ढुंगो बनेको छ।
माधव नेपालसँग मतभेद, घनश्यामसँग दूरी, र झलनाथको मौनता— यी सबैले बामदेवको ‘राजनीतिक पुनर्जन्म’ योजना अनिश्चित बनाएको छ।
यो कथा केवल एक नेताको उतार–चढाव मात्र होइन। यो नेपालमा बामपन्थी राजनीतिले “विचारभन्दा बढी व्यक्ति” केन्द्रित हुँदा सिर्जित अस्थिरताको प्रतिबिम्ब हो।
माओवादी र एमालेबीचको संघर्ष, एकता र पुनःविभाजनको चक्रमा बामदेवजस्ता नेताहरूले कहिले नायक त कहिले समीक्षकको भूमिका खेले । कहिले उनै खलनायक भएर छद्मभेषी बने। तर अन्ततः, विचारभन्दा ठूलो महत्व सत्ता र अवसरले पायो। सारमा,आज बामदेव पुनः एक पटक “माओवादी निकट समाजवादी केन्द्र” बाट आफ्नो अस्तित्व जोगाउने कोसिसमा छन्।
तर इतिहासको पाना भन्छ— जो सम्बन्ध जनयुद्ध र गोप्य फोनबाट सुरु हुन्छ, त्यो सम्बन्ध सत्ता पुगेपछि विचारमा टिक्न कठिन हुन्छ।
नेपालको बामपन्थी राजनीति फेरि एउटा निर्णायक मोडमा छ— जहाँ इतिहासका साक्षीहरू अझै पनि फोनको घण्टीमा राजनीतिक भविष्य सुन्छन्।
( द्वन्द्वकालीन पूरै समय बर्दियासहित दुर्गम क्षेत्रमा सक्रिय पत्रकारिता गरेका लेखक खनाल विगत ३० वर्षदेखि बामदेव गाैतमप्रति जानकार छन् )




