२०८२ साउन ३१, शनिबार

@ कृष्ण खनाल
समाज विविध संस्कृति, धर्म र परम्पराले भरिएको सँयाेगात्मक थलाे हाे । परम्पराले समाजलाई यसरी निर्देश गर्दछ कि `सभ्यताको निरन्तरता र समाजकाे अस्तित्व ´ बाँचिरहाेस्।
श्रीकृष्णाष्टमी यिनै परम्परामध्ये प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित पर्व हाे।
भगवान श्रीकृष्णलाई विष्णुको आठौँ अवतारका रूपमा स्वीकार गरिएको छ। कंसको कारागारमा जन्मिएका कृष्णले अन्याय, अत्याचार र अधर्मको अन्त्य गर्दै धर्म, सत्य र न्यायलाई स्थापनाका लागि जीवन अर्पण गरे। यसैले कृष्णाष्टमी केवल एक धार्मिक उत्सव मात्र नभई सामाजिक, सांस्कृतिक र दार्शनिक दृष्टिले पनि महत्त्वपूर्ण पर्व हो।
* कृष्णको ऐतिहासिक–
धार्मिक आयाम- श्रीकृष्णको बाल्यकालदेखि युवावस्था र महाभारत युद्धसम्मको जीवन यात्रा नै संघर्ष, चातुर्य र धर्मसंस्थापनासँग जोडिएको पाइन्छ। गोपाल जीवन र
गोकुल संस्कार:
कृष्ण गाईपालन, बासुरी वादन र गोपिनीहरूसँगको आत्मीय सम्बन्धका कारण “प्रेम र संगीतका देवता” मानिन्छन्। कंस वध: अत्याचारी शासकविरुद्धको संघर्षले कृष्णलाई मुक्तिदाता बनायो।
* गीता उपदेश:
महाभारत युद्धमा अर्जुनलाई दिएको उपदेश जीवन दर्शनकै अमूल्य ग्रन्थ बनेको छ, जसले सत्य, धर्म र कर्ममार्गलाई स्थापित गर्छ।
# समाजशास्त्रीय दृष्टिकोणमा कृष्णाष्टमी-

* धर्म र नैतिकता पुनर्संरचना समाजमा अन्याय, भ्रष्ट्राचार र शक्तिको दुरुपयोग बढिरहेको वर्तमान अवस्थामा कृष्णको जीवन र गीता उपदेशको पुनः स्मरण आवश्यक छ। “कर्म गर, फलको चिन्ता नगर” भन्ने सिद्धान्तले व्यक्ति र समाजलाई जिम्मेवार र उत्तरदायी बनाउँछ।
* सामाजिक ऐक्यता र सहकार्य कृष्णाष्टमीमा सामूहिक पूजा, कथा वाचन र भजन–कीर्तनमार्फत समाजका सदस्यबीच सहकार्य र सम्बन्ध बलियो हुन्छ। यसले समुदायमा धार्मिक भावनासँगै सामाजिक ऐक्यताको भावना प्रवर्धन गर्छ।
* संस्कृति संरक्षण- पर्वमार्फत परम्परागत नृत्य, संगीत, भजन, कथा र सांस्कृतिक अभ्यासलाई निरन्तरता दिइन्छ। यसरी कृष्णाष्टमी संस्कृतिको संरक्षण र पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्छ।
# समकालीन समाजमा औचित्य-
– युवापुस्तामा मूल्य शिक्षा: आजको पिढी भोगवाद, निराशा र दिशाहीनतामा अल्झिँदा कृष्णको जीवन दर्शनले मार्गदर्शन दिन्छ।
– न्याय र समता:
कृष्णको पक्ष सदैव धर्म र न्याय पक्षीय थियो, जुन अहिलेको सामाजिक असमानता, लैङ्गिक विभेद र भ्रष्ट संरचनाविरुद्ध आवश्यक सन्देश हो।
– समाज सुधार: कृष्णले जस्तो सत्य र धर्मका लागि साहसपूर्वक लड्नुपर्ने वर्तमान समाजमा पनि उतिकै आवश्यक छ।
निष्कर्ष: कृष्णाष्टमी केवल भगवान श्रीकृष्णको जन्मजयन्ती मनाउने धार्मिक पर्व मात्र होइन, यो सत्य, धर्म, न्याय र मानवताकाे जयघोष हो। वर्तमान समाजमा बढ्दो भौतिकता, मूल्यह्रास र असमानतालाई न्यूनिकरण गर्न कृष्णको उपदेश र दर्शन मार्गदर्शक बन्न सक्छ। त्यसैले कृष्णाष्टमी पर्वको औचित्य अझै बढ्दै गएको छ—समाजलाई सत्य, न्याय र नैतिकताप्रति सचेत गराउने र साझा सहकार्यतर्फ अघि बढाउने महत्त्वपूर्ण अवसरका रूपमा।
( krishnakhanal056@gmail.com)


