© कृष्ण खनाल `शार्दूल´,चितवन
लघुकथा: बृद्धाश्रम आँगन
वृद्धाश्रमको आँगनमा साँझ विस्तारै ओर्लिरहेको थियो। पश्चिमतिरको घाम रातो हुँदै हराउँदै थियो। तर एउटा अनुहारमा भने घाम अस्ताएको थिएन।
अस्सी वर्ष नाघेका एक बुबा आश्रमको मूलढोकातिर टुलुटुलु हेरिरहेका थिए। मैले नजिक गएर सोधेँ, “कसको प्रतीक्षा हो?” उहाँ हल्का मुस्कुराउनुभयो। “छोराको…” “आउँछु भनेर गएको हो?” “होइन। सात वर्ष भयो, केही खबर छैन। तर बाबु, प्रतीक्षा गर्न त कसैले रोक्दैन नि।” केहीबेर मौनता छायो। मैले
फेरि साहस गरेर प्रश्न गरेँ, “यति लामो समय बेवास्ता गर्दा पनि रिस उठ्दैन?” उहाँको दृष्टि अझै ढोकामै थियो। “रिस त उठ्छ। मन पनि धेरै पटक टुट्छ। तर आमाबुबाको मन काँचभन्दा पनि नरम हुँदो रहेछ। सन्तानले दिएको चोट आफ्नै भाग्य सम्झेर सहन सकिन्छ, तर सन्तानलाई दुःख परोस् भन्ने कामना गर्न सकिँदैन।”
त्यसै बेला अर्को कोठाबाट कसैले खुसी हुँदै भन्यो, “मेरो छोरी विदेशमा ठूलो पदमा पुगिछे।” यो खबर सुन्नासाथ ती बुबाको अनुहार उज्यालियो। “हेर्नु न बाबु,” उहाँले भन्नुभयो, “आफ्ना छोराछोरी हामीभन्दा धेरै माथि पुगून्। उनीहरूले हामीलाई सम्झून् वा नसम्झून्, उनीहरूको सफलतामै हाम्रो जित हुन्छ।”
चारवटा आश्रमका कैयौँ बुबाआमा भेटेँ त्यही दिन। उनीहरूका कथा फरक थिए, तर मन एउटै थियो। कसैले अपमानको गुनासो गरेनन्।
कसैले आफ्ना सन्तानको असफलता चाहेनन्। सबैको एउटै प्रार्थना थियो—”हाम्रा छोराछोरी सुखी रहून्।”
घरबाट टाढा बस्न बाध्य ती बुबाआमाले जीवनको एउटा गहिरो सत्य सिकाए— संसारमा सबैभन्दा धेरै अपमान सहन सक्ने मन यदि कुनै छ भने त्यो आमाबुबाको मन हो। र संसारमा सबैभन्दा निस्वार्थ खुसी यदि कुनै छ भने त्यो आफ्ना सन्तान आफूभन्दा धेरै सफल भएको देख्दा प्राप्त हुने खुसी हो।
सायद त्यसैले आमाबुबाको प्रेमको कुनै परिभाषा छैन। त्यो न त व्यवहारसँग साटिन्छ, न त उपहारसँग। त्यो त केवल दिइरहन्छ—अन्तिम साससम्म, अन्तिम प्रतीक्षासम्म,चाहे आश्रमसम्म धकलिन किन नपराेस् ।
( समाजशास्त्रमा स्नातकोत्तर गरेका लेखक कृष्ण खनालले देवघाटकाे वारि र पारिका दुई आश्रम र कमलनगर नारायणगढ स्थित मानवसेवा आश्रमकाे स्थलगत अध्ययन पश्चात् तयार पारिएको लघकथाकाे रुप हाे)




