२०८२ असाेज २४, शुक्रबार

@ कृष्ण खनाल
नेपाली समाजमा एउटा चर्चित उखान छ — “केटाकेटी आए, गुलेली चलाए, मट्याग्राको सत्यानास।”
यसको अर्थ सरल छ — अपरिपक्व हातमा परेको शक्ति वा अवसरले सिर्जना गर्छ, विनाश; हासिल गर्छ शून्य उपलब्धि। के हालै जेनजीकाे नाममा भएकाे आन्दोलन (GenZ movement) काे एक महिना पछिकाे प्रारम्भिक विश्लेषणले यही उखान तर्फ सँकेत गरेकै हाे त?
*आन्दोलनको सुरुवात: ऊर्जावान ज्वारभाटा, तर दिशाहीन गन्तव्य
– जेनजी आन्दोलनको आरम्भ उत्साहपूर्ण थियो। सहरका सडकदेखि सामाजिक सञ्जालसम्म युवाहरूले भ्रष्टाचार, असमानता र शासक वर्गप्रतिको असन्तोष खुलेर पोखेका थिए।
तर, समाजशास्त्रीय दृष्टिले हेर्दा, यो आन्दोलन “social energy without social structure” अर्थात् संरचना विना उर्जा थियो। छ पनि । युवाहरूको भावनात्मक आवेगले आन्दोलनलाई बलियो बनायो, तर त्यसको दिगो उद्देश्य, वैचारिक स्पष्टता र संगठनात्मक नक्सा भने कमजोर रह्यो। अझ भनाै थिएन नै ।
परिणाम त आन्दोलनको “momentum” हरायो, “movement” बन्न सकेन। केवल बनायो सम्पत्तिको सत्यानाश र सामाजिक कलह र द्वैष ।
– समाजशास्त्रीय दृष्टि : मूल्य र आन्दोलनबीचको द्वन्द्व-
समाजशास्त्री एमिल दुर्खाइमका अनुसार, समाजका हरेक आन्दोलनले सामूहिक नैतिक चेतना (collective moral consciousness) निर्माण गर्नुपर्छ। तर जेनजी आन्दोलनमा सामूहिक चेतनाभन्दा व्यक्तिगत अभिव्यक्ति हावी भयो। सामाजिक सञ्जालमा “trend” र “viral moment” बन्ने दौडले आन्दोलनको नैतिक र बौद्धिक गहिराइ गुमायो।
त्यसैले, जहाँ जनचेतना बन्नुपर्ने थियो, त्यहाँ सामाजिक प्रदर्शन (performative activism) बढ्यो।
नारा थियो — “भ्रष्टाचार अन्त्य गरौं” तर कार्यनीति, नीति–विकल्प वा वैकल्पिक नेतृत्वबारे मौनता छायो।
* अपरिपक्व नेतृत्व र वैदेशिक प्रभावकाे छनक –
अनेक विश्लेषकहरूले यो पनि इंगित गरेका छन् कि आन्दोलन भित्र अपरिपक्व नेतृत्व र अन्तर्राष्ट्रिय प्रभावका संकेत देखिए। कसैले यसलाई “spontaneous youth uprising” भने, कसैले भने “influenced mobilization”। सामाजिक सञ्जालमा फैलिएका सन्देश, भिडियो, विदेशी संस्थासँगको आभासी सहकार्य र आर्थिक स्रोतका प्रश्नहरू उठ्न थालेपछि आन्दोलनको स्वतन्त्रता र उद्देश्य नै विवादमा पर्यो। जसले गन्तव्यहीन यात्रालाई पथ पछ्याउन थाल्याे।
यो अवस्था समाजशास्त्री म्याक्स वेबरको “legitimacy crisis” सँग मेल खान्छ — जब आन्दोलनले वैधानिकता गुमाउँछ, त्यसको सामाजिक समर्थन पनि हराउँछ। ´ त्यस्तै भैसक्याे जेनजी आन्दोलनको राफताप ।
* उपलब्धिको सट्टा अधिक क्षति गर्ने तर्फ बढेकाे जत्था
– जेनजी आन्दोलनले तत्कालीन सरकारलाई हल्लायो, तर राज्य संयन्त्रलाई सजग पार्न सक्ने ठोस सुधारका कदम देखा परेनन्। बरु, सडकमा तोडफोड, सार्वजनिक सम्पत्तिको क्षति र आर्थिक नोक्सानी बढी भयो। नियतले निर्देश गर्याे भिडलाई। सामाजिक असन्तुलन बढ्यो, तर प्रणालीगत परिवर्तन भएन। यसरी हेर्दा, यो आन्दोलनले “उर्जा त दियो, दिशा भने हरायो” ।
* राष्ट्रिय–अन्तर्राष्ट्रिय चलखेलका संकेत राजनीतिक विश्लेषकहरूका अनुसार, जेनजी आन्दोलन भित्र अन्तर्राष्ट्रिय एनजीओ, दातृ निकाय र क्षेत्रीय शक्तिहरूको soft influence पनि देखियो। कसैका लागि यो लोकतान्त्रिक चेतना जगाउने प्रयोग थियो, तर कसैका लागि, नेपालको अस्थिर राजनीतिलाई फेरि एकपटक असन्तुलित बनाउने मौका पनि। यही कारण, आन्दोलनको “core spirit” — अर्थात् भ्रष्टाचारविरुद्धको मूल आवाज — परका हितहरूका बीच हरायो।
* निष्कर्ष:
अपरिपक्व क्रान्ति, अपूर्ण परिणाम- पाउने भन्दा गुमाउने बेसी – नेपालमा प्रत्येक दशकमा नयाँ आन्दोलन जन्मिन्छ, तर समाजशास्त्रीय रूपमा समस्या एउटै रहन्छ — संरचना विना क्रान्ति, र नेतृत्व विना दर्शन। जेनजी आन्दोलनले पनि यही चक्र दोहोर्यायो।
सुशीला कार्कीलाई पहिलो महिला प्रधानमन्त्री बनायाे बस् पहिलाे महिला प्रधानमन्त्री । भ्रष्टाचारविरुद्धको आवाज औचित्यपूर्ण थियो, तर यसको कार्यविधि, रणनीति र नैतिक दिशा स्पष्ट नहुँदा,यो आन्दोलन गुलेली चलाउने केटाकेटीहरूको खेलझैं समाप्त भयो — “मट्याग्राको सत्यानास भयो, उपलब्धि भने शून्य।”
युवाहरूमा विद्रोहको भावना हुनु सकारात्मक हो — तर विद्रोहभन्दा महत्वपूर्ण हुन्छ दिशा। अध्ययन, नीति र दीर्घकालीन सोचमा आधारित आन्दोलन मात्र प्रणालीगत परिवर्तन ल्याउन सक्षम हुन्छ। अन्यथा, प्रत्येक उखान फेरि दोहोरिन्छ — “केटाकेटी आए, गुलेली चलाए, मट्याग्राको सत्यानास।”
( लेखक खनाल लैङ्गिक तथा महिलावादी आन्दोलन मूल विषयमा स्नातकोत्तर पत्रकार हुन्)




