२०८३ साउन १९, मँगलबार
@ दीक्षा खनाल
श्रीखबर/ कृषि तथा वन विज्ञान विश्वविद्यालय र भरतपुर महानगरपालिकाले कृषि, वन, शिक्षा तथा अनुसन्धानका क्षेत्रमा रणनीतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेल नेतृत्वको टोलीलाई महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले स्वागत गर्दै दुवै संस्थाबीच अनुसन्धान, प्रविधि हस्तान्तरण, दक्ष जनशक्ति उत्पादन तथा स्थानीय कृषि विकासका कार्यक्रमलाई संयुक्त रूपमा अघि बढाउने विषयमा सकारात्मक छलफल भएको हो।
भेटवार्ताका क्रममा स्थानीय सरकार र विश्वविद्यालयबीचको समन्वयलाई संस्थागत गर्दै ज्ञान, अनुसन्धान र नवप्रवर्तनलाई जनजीवनसँग जोड्ने साझा योजनामा सहकार्य गर्ने विषयमा व्यापक विचार आदानप्रदान भएको थियो।
दुवै पक्षले आगामी दिनमा साझेदारीलाई अझ सुदृढ, परिणाममुखी र दीर्घकालीन बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।



