२०८३ असार १९, शुक्रबार
श्रीखबर/चितवन । नेपाल सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. ऋषि राम कट्टेललाई नियुक्त गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई विश्वविद्यालयको सर्वोच्च शैक्षिक नेतृत्वको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
कृषि शिक्षा, अनुसन्धान तथा विश्वविद्यालय व्यवस्थापनमा लामो अनुभव हासिल गर्नुभएका प्रा. डा. कट्टेल कृषि तथा वन विज्ञान क्षेत्रका स्थापित शिक्षाविद् तथा अनुसन्धानकर्ता मानिनुहुन्छ। उहाँले लामो समयसम्म त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कृषि तथा वन विज्ञान अध्ययन संस्थान, रामपुरमा प्राध्यापन गर्दै हजारौं दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउनुभएको छ।
राज्यले कृषि, पशु, वन तथा मत्स्य विज्ञानलाई विशेष प्राथमिकतामा राख्दै स्थापना गरेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समेत उहाँले विभिन्न महत्त्वपूर्ण शैक्षिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो। विश्वविद्यालयको संस्थागत विकास, गुणस्तरीय शिक्षाको विस्तार, अनुसन्धानको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा उहाँको योगदान उल्लेखनीय मानिन्छ।
प्रा. डा. कट्टेलले कृषि विज्ञानका विविध विषयमा विद्यावारिधि (PhD) सहित उच्च अध्ययन गर्नुभएको छ। विभिन्न विकसित मुलुकमा अध्ययन, अनुसन्धान तथा शैक्षिक भ्रमणमार्फत अन्तर्राष्ट्रिय अनुभव हासिल गर्नुभएका उहाँले विश्वस्तरीय विश्वविद्यालय र अनुसन्धान संस्थासँग सहकार्य गर्दै नेपाली कृषि क्षेत्रको आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि, पशु विज्ञान, वन विज्ञान, मत्स्य विज्ञानलगायतका विषयमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन–अध्यापन हुने भएकाले उपकुलपति पद विश्वविद्यालयको सबैभन्दा गरिमामय र जिम्मेवार नेतृत्व मानिन्छ। यस्तो महत्त्वपूर्ण जिम्मेवारीमा प्रा. डा. कट्टेलको नियुक्तिलाई कृषि शिक्षा तथा अनुसन्धान क्षेत्रका लागि सकारात्मक सन्देशका रूपमा हेरिएको छ।
विश्वविद्यालयलाई अनुसन्धानमुखी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउँदै कृषि क्षेत्रको उत्पादन, उद्यमशीलता तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उहाँको नेतृत्व प्रभावकारी हुने अपेक्षा गरिएको छ।
नवनियुक्त उपकुलपति प्रा. डा. ऋषि राम कट्टेललाई हार्दिक बधाई तथा सफल, उपलब्धिमूलक र ऐतिहासिक कार्यकालको शुभकामना।




