२०८२ असाेज ५, आइतबार
चितवन लगायत देशका विभिन्न भूभागका थारु बस्तीमा यमाेसा पर्व मनाइएको छ।
* के हाे त यमोसा (पितृऔंसी )पर्व…..

थारु जाति संस्कृति सम्पदा भरिपूर्ण भएको समुदाय हो । थारु जातीले वर्षभरिमा दर्जनौं पर्वहरु मनाउँछन् । प्रत्यक पर्वको छुट्टै पहिचान, चिनारी अनि महत्त्व छ । यी पर्वहरुमध्ये यमोसा (पितृऔंसी) पर्व पनि एउटा ठूलो पर्व हो ।
यो पर्व चितवनसहित नवलपरासी र आसपासका थारु समुदायले मात्रै मनाउने गर्दछन् । वर्षभरिमा मृत्यु भएको हजुरबुबा, हजुरआमा, आमा, बुबा सम्झिने गर्दछ अनि त्यही दिन औंसी पनि परेको हुनाले यो पर्वलाई पितृ औंसी पनि भन्ने गरिन्छ । यो पर्व दसैंको घटस्थापनाको ठीक अगाडिको दिनमा पर्ने गर्दछ ।
यमोसा पर्व दुई दिन धुमधामले मनाउने गरिन्छ । यमोसाको अगाडिको दिनमा माछा मार्ने गरिन्छ । त्यो दिनमा एक्लै अथवा समुहमा मिलेर ताल पोखरी नदीहरुमा घौंका, जाल, कोईनी, ढडिया, डेली सामानहरु लिएर माछा मर्न जाने चलन छ । अर्को दिन अर्थात आज (आइतवार) यम्वासाक दिनमा बिहानैं पुरुषहरु आफूले देखेको सिरुको घाँस काटेर ल्याउने गर्दछन् । सिरुको घाँस राम्रोसँग निफनेर एक हात जति लामो कुचोको मुठा बनाएर बाँध्ने गर्दछन् ।
घरको अगाडि आँगनमा पिर्कामा राखेर बसाउने कुचोको मुठोलाई पहुनी बसालेको भनिन्छ । पहुनीलाई घेरै किसिमको फुलमाला हालेर सजाइदिने गरिन्छ । पाहुनीलाई घाँम नलागोस भनेर छाँता ओढाउने पनि गरिन्छ । पाहुनीको अगाडि सुकमेल, सुपारी, रक्सी, चुरोट, सुर्ती राखिदिने गरिन्छ । त्यो दिन बिहानै साना बच्चा बच्चीदेखि लिएर बूढाबूढीसम्मका सबैले पहिल्यै मृत्यु भइसकेका हजुरबुबा, हजुरआमा, बुबा, आमाहरुलाई सम्झेर कुश पानी चढाई सम्झी पानीले नुहाईदिने गरिन्छ । नुहाईसकेपछि सफालुगा लगाएर पाहुनीको अगाडि बसेर घरका सम्पूर्ण परिवार मिलेर अलिअलि पानी अनि रक्सीको थोपा चढाउने गरीन्छ। त्यस्पछि मात्रैे भात अनि अरु खानेकुरा खान मिल्ने गर्दछ ।
पहिला सुरुमा आफ्नो छोरीज्वाई अनि अन्य पाहुनालाई बोलाएर आदर सम्मानका साथ चौंरासी व्यञ्जन खुवाउने गरिन्छ । (यस्लाई पितरी बसालेको भनिन्छ) घरमा आएका पाहुनाहरुलाई खाना खुवाएर मात्रै आफु अनि घरका अन्य सदस्यहरु खाना खान बस्ने गरिन्छ । अनि केटीहरुले पाहुनाहरुलाई कपालमा तेल लगाएर काङ्गीयोले कपाल कोरिदिने गर्दछन् । त्यसपछि उल्टो नाङ्लोमा पानी हालेर पाहुनाहरुलाई पानी छर्किने गरिन्छ । यस्लाई पितपितराईन लखेटेको भनिन्छ ।
त्यो घरमा जोसुकै आएपनि त्यो दिनमा पाहुना आएको भन्ने गरिन्छ । अनि पाहुनालाई केहि खानेकुरा जस्तै रक्सी, जाँड, मासु भात, खुवाएर आदर सम्मानका साथ मात्रै बिदा गर्ने गरिन्छ । यमोसाको दिनमा पाहुनाहरुलाई पितृगणको रुपमा हेर्ने चलन छ । यस्तै खानपिन दिनभरी चलिरहन्छ । यता गाउँका सम्पूर्ण मानिसहरु एकैठाउँमा भेलाभई पिङ खेली रमाईलो गर्ने गरिन्छ । पहिले पहिले एउँटै ठूलो रुखमा पाँच छ ओटा पिङ हाली खल्ने गरिन्थ्यो । अनि केटाहरु साँझ पख गाउँको चोकमा गई सिरु घाँसले बाटेको डोरी म्वाढ्हा गाड्छन अनि बलिया बलिया मानिसहरुले त्यस्लाई उखाल्न कोसिस गर्ने गर्दछन् ।
साँझ पख स–साना केटाकेटीहरु ग्रुप ग्रुपमा मिलेर सम्पूर्णको घर घरमा गई यमोसा खाने चलन छ । प्रत्यको घरमा धेरै किसीमको परम्परागत गीतहरु गाएर यमोसा खाने गर्दछन् ।
गाउने थारु गीतहरुका केही अंश यसप्रकारका छन् :
गीत नं. १ डौली डौली मोदवा देले दबकाई
मोदहर्नीक मोदवा घुघल बाजे
बौरी बौरी मोदवा देले निसकाई
गीत नं. २ भन्साक लकर–तकर मजीघर छमाकरी,
कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी
गीत नं. ३ पाता परैय गेल, भात परैय गेल,
दाली परैय गेल, मासु परैय गेल,
यौर परल गजमोती जेवहुँ सभरे,
गोतियवा–गोतिनिया मन चितलाई
तर अब ती गीतहरु, ती म्वाढ्हा र पिङहरु, पितरी र पिलपित्रायनहरु, ती पाहुना पहुनी र हरुसबै सबै लोप हुँदैछ । पछिल्लो समयमा यस्ता परम्परागत गीतहरु हराउदै गएको हुनाले आगामी दिनहरुमा यसको संरक्षण गर्न आवश्यक देखिएको छ ।
हाम्रो देशको सन्दर्भमा सर्वस्वीकार्य र सर्वमान्य तथ्य कुरा के हो भने नेपाल एक बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक हो । दर्जनभन्दा बढी धर्म, सयभन्दा बढी भाषाभाषी र जातजाति तथा त्यसभन्दा पनि कैयौं बढी रितिरिवाज, परम्परा, चालचलन, संस्कार तथा संस्कृतिहरु नेपालको गौरव र गरिमामय चिनारी हुन् । जातीय विविधता तथा सांस्कृतिक विविधता हामी सम्पूर्ण नेपाल र नेपालीको राष्ट्रिय पहिचान हो । त्यसकारण सबै किसिमका संस्कृतिहरु समान रुपमा हुर्कने र मौलाउने वातावरण देशमा हुन सकेको खण्डमा सयौं थुँगा फूलका हामी एउटै माला नेपाली राष्ट्रगानको औचित्य हुनसक्छ ।
त्यसैले हाम्रा सबै किसिमका संस्कृतिहरुलाई एउटै प्लेटमा सजाएर सलाद संस्कृति को रुपमा विकास गर्नुपर्छ । जसरी सलादमा विभिन्न प्रकारका फलफूल लगायत गाजर, मूला, काक्रो इत्यादी एउटै प्लेटमा पस्केर हरेक टुक्रा सलादको फरक स्वाद लिन पाइन्छ, त्यसैगरी एउटै स्थानमा थुप्रै किसिमका संस्कृतिहरुको विकास भएमा फरक फरक सांस्कृतिक स्वाद लिन र पस्किन पाइन्छ ।
Advertisement




