२०८३ असाेज ८, बिहीबार
विद्यालाई वरिष्ठ मनाेनित गर्नु ओलीकाे बाध्यता देखिएपनि याे कार्यले अध्यक्ष ओलीलाई तात्कालिक राहत मिलेकाे छ।´
© कृष्ण खनाल
श्रीखबर/नेपाली राजनीतिमा नेकपा (एमाले) भित्रको आन्तरिक समीकरण सधैँ चाखलाग्दो र पेचिलो रहने गरेको छ।
लामो समयदेखि पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको दुई फरक ‘धार’ स्पष्ट देखिन्थ्यो। पार्टीका अन्य दोस्रो तहका नेताहरू—उपाध्यक्ष र महासचिवहरूले आफ्नै बलियो गुट बनाउने प्रयास नगरेका होइनन्, तर एमालेको मूल राजनीति ओली र भण्डारीकै वरिपरि घुमिरह्यो।
यतिसम्म कि इतर कम्युनिस्ट वृत्तले पनि भण्डारीलाई अगाडि सारेर ओलीको विकल्प खोज्न निकै नउकासेका हाेइनन्।
पार्टी सदस्यता नवीकरणमै अलमल र असन्तुष्टि जनाउँदै आएका ओलीका लागि भण्डारीको राजनीतिक पुनरागमन र दबाब निकै चुनौतीपूर्ण बनेको थियो।
बाहिरबाट हेर्दा “अब ओलीले स्थिति सम्हाल्न सक्दैनन्” वा “अध्यक्षको एकाधिकार तोकिन्छ” भन्ने अनुमान गरिए पनि पछिल्लो केन्द्रीय कमिटी बैठकले राजनीतिलाई अर्कै मोड दिएको छ।
बैठकबाट भण्डारीलाई ‘वरिष्ठ नेता’ मा मनोनयन गर्दै ओली पक्षले हाललाई नेतृत्व परिवर्तनको सम्भावित आँधीलाई सफलतापूर्क साम्य (व्यवस्थापन) पारेको छ।
@ किन भयाे यस्ताे निर्णय- राजनीतिक विश्लेषण
१. सम्झौताको राजनीति: भण्डारीलाई वरिष्ठ नेता बनाउनु ओलीको बाध्यता जस्तो देखिए पनि यो वास्तवमा उनको ‘राजनीतिक चतुरता’ हो।
विरोधका स्वरहरूलाई अधिकार र पदको भागबन्डामा अल्झाएर तत्कालका लागि ठूलो सङ्कट टालिएको छ।
२. तात्कालिक व्यवस्थापन, दीर्घकालीन चुनौती: ओलीले चुनौती त पन्छाए, तर यो स्थायी समाधान भने होइन। वरिष्ठ नेताका रूपमा भण्डारीको उपस्थितिले पार्टीभित्र अर्को शक्ति केन्द्रको औपचारिक वैधानिकता पाएको छ, जसले आगामी महाधिवेशन र शक्ति सङ्घर्षलाई अझ रोचक र धारिलो बनाउने निश्चित छ।
३. इतर समूहको निराशा: भण्डारीलाई अगाडि सारेर ओलीलाई एक्ल्याउन खोज्ने पार्टी इतर कम्युनिस्ट र विपक्षी रणनीतिकारहरूका लागि यो निर्णय एक प्रकारको धक्का हो।
एमालेभित्रको यो शक्ति–सन्तुलनले ओलीको सङ्कट व्यवस्थापन क्षमता पुनः पुष्टि गरेको त छ, तर वरिष्ठ नेताको भूमिकामा आएकी भण्डारीले आगामी दिनमा खेल्ने भूमिकाले नै एमालेको वास्तविक भावी दिशा तय गर्नेछ।





