८ भाद्र २०८३, सोमबार
नागढुंगा सुरुङमार्गको परीक्षण सञ्चालन सोमबार (आजदेखि) चरणबद्ध रूपमा सुरु गरिएको छ ।
सोमबार बिहान ९ बजेदेखि ९ सिटसम्मका निजी सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गरेर काठमाडौं–धादिङ आवागमन गर्न खुला गरिएको हो ।
करीब २४ अर्ब रूपैयाँ खर्चिएर तयार भएको सुरुङ मार्गको गत साउन ११ गते पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उद्घाटन गरेका थिए । उनले उद्घाटन गरेसँगै नेपाल सुरुङ मार्गको युगमा प्रवेश गरेको थियो । त्यसअघि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
४२ महीनामा सम्पन्न गर्ने गरी सरकारले सुरूङमार्ग बनाउने जिम्मा जापानको हाज्मा÷आन्दो जेभीलाई दिएको थियो । तर सोही वर्ष देखिएको कोरोना महामारी, जग्गाको मुआब्जा विवाद, खानेपानीलगायत विषयमा स्थानीयसँग भएको समस्याजस्ता कारणले आयोजनाको म्याद चार पटकसम्म थपिएको थियो । जसले गर्दा यो आयोजना झन्डै ७ वर्षमा तयार भएको छ ।




