@ज्ञानेन्द्र पोख्रेल,पश्चिम नेपाल
श्रीखबर/२०८३ असार १९, शुक्रबार
बर्दिया / बढैयाताल गाउँपालिकाका विभिन्न वडाले महिला स्वास्थ्य स्वयंसेविलकाको मनोबल बढाउँदै उनीहरूले समुदायमा प्रवाह गर्ने स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन साइकल वितरण अभियानलाई निरन्तरता दिएका छन्।यसैक्रममा बढैयाताल गाउँपालिका–६ ले बिहीबार आफ्नो वडाअन्तर्गत कार्यरत १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक–एक थान नयाँ साइकल वितरण गरेको छ।

वडा कार्यालयको बजेटबाट वितरण गरिएको साइकलले स्वयंसेविकाहरूलाई दुर्गम बस्तीमा पुगेर सेवा प्रवाह गर्न सहज हुने अपेक्षा गरिएको छ। साइकल वितरण तथा सम्मान कार्यक्रममा वडा नं. ६ का अध्यक्ष शुक्रराज सापकोटाले विकास निर्माणका केही शीर्षकको बजेट कटौती गरेर भए पनि महिला स्वास्थ्य स्वयंसेविकाको कार्यलाई सम्मान गर्न साइकल उपलब्ध गराइएको बताए। उनले आगामी दिनमा पनि स्वयंसेविकाको क्षमता अभिवृद्धि र सेवासुविधामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले महिला स्वास्थ्य स्वयंसेविकाहरू गाउँस्तरको स्वास्थ्य सेवाको पहिलो आधार भएको उल्लेख गर्दै उनीहरूको योगदान अतुलनीय रहेको बताए। सीमित सेवा–सुविधाका बाबजुद निरन्तर समुदायमा स्वास्थ्य सेवा पुर्याइरहेका स्वयंसेविकाको काम सबैले सम्मान गर्नुपर्ने उनको भनाइ थियो। महिला स्वास्थ्य स्वयंसेविकाका तर्फबाट बोल्दै विजया तिमिल्सिनाले वडा कार्यालयले आफ्नो कार्यको कदर गर्दै साइकल उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरिन्। उनले स्थानीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाले पाउनुपर्ने सेवा–सुविधा अझ प्रभावकारी रूपमा सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि औँल्याइन्।

कार्यक्रममा उमेर हदका कारण सेवाबाट अवकाश लिँदै गरेकी महिला स्वास्थ्य स्वयंसेविका कलावती थारुलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
साइकल वितरण कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेल, स्वास्थ्य फोकल पर्सन रमेश पौडेल, वडा सचिव, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था व्यवस्थापन समितिका सदस्य तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन मैनापोखर स्वास्थ्य संस्थाका प्रमुख टोलप्रसाद लामिछानेले गरेका थिए। यसअघि बढैयाताल गाउँपालिका–७ ले पनि आफ्ना वडाअन्तर्गत कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई एक–एक थान नयाँ साइकल र छाता वितरण गरेको वडा अध्यक्ष राधेश्याम थारुले जानकारी दिएका छन्।
गाउँपालिकाका विभिन्न वडाबाट सञ्चालन गरिएको यस्तो अभियानले महिला स्वास्थ्य स्वयंसेविकाको मनोबल वृद्धि हुनुका साथै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास गरिएको छ।




