२०८२ माघ १३, मँगलबार
श्रीखबर/ चितवन । भरतपुर–११ स्थित आरम्भ कलेजको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आरम्भ कप २०८२’ अन्तरकलेज बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ।
विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकास, नेतृत्व क्षमता अभिवृद्धि, खेलभावना, अनुशासन र टीमवर्कलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कलेजले जनाएको छ।
प्रतियोगिता माघ १८ गतेदेखि २२ गतेसम्म आरम्भ कलेजको बास्केटबल कोर्ट, भरतपुर–११ मा सञ्चालन हुनेछ। आयोजक समितिका अनुसार प्रतियोगितामा ३५ भन्दा बढी टिमको सहभागिता रहने अपेक्षा गरिएको छ, जसमा विभिन्न कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सहभागी हुनेछन्।
प्रतियोगिताका सबै खेलहरू नेपाल बास्केटबल संघ (Nepal Basketball Association–NeBA) का आधिकारिक नियमअनुसार सञ्चालन गरिनेछ। निष्पक्ष र व्यवस्थित खेल सुनिश्चित गर्न अनुभवी रेफ्री, प्राविधिक समिति तथा स्वयंसेवक टोली परिचालन गरिएको आयोजकले जानकारी दिएको छ।
प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन पुरस्कारको समेत व्यवस्था गरिएको छ। प्रथम हुने टिमले नगद १५ हजार रुपैयाँ तथा दोस्रो हुने टिमले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई Most Valuable Player (MVP) र Highest Scorer का रूपमा विशेष सम्मान प्रदान गरिनेछ। सहभागी सबै टिम तथा विजेता टिमलाई प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको तयारीस्वरूप पहिलो दिन ओरिएन्ट्रेशन कार्यक्रम सम्पन्न भइसकेको छ।
कार्यक्रममा सहभागी टिमका टिम लिडर तथा खेलाडीहरूको अन्तिम सूची पुष्टि गर्नुका साथै खेल तालिका, नियम, अनुशासन र सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
आरम्भ कलेजले शैक्षिक गतिविधिसँगै यस्ता खेलकुद प्रतियोगिताहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
आयोजक समितिले विद्यार्थी, अभिभावक तथा खेलप्रेमी दर्शकहरूलाई प्रतियोगिता अवलोकन गरी खेलाडीहरूको हौसला बढाउन आग्रह गरेको छ।



