२०८३ मँसिर ७,साेमबार
@ कृष्ण खनाल
काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने शिक्षा मन्त्रालयको प्रस्तावित योजना तुहिएको छ। चौतर्फी विरोध र आर्थिक दायित्वको प्रश्न उठेपछि अर्थ मन्त्रालयले ‘शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३’ मा समेटिएको उक्त व्यवस्था खारेज गरिदिएको हो।
शिक्षा मन्त्रालयले गत असोजमा तहगत आधारमा शिक्षकहरूलाई चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सहुलियत दिने व्यवस्थासहित नियमावलीको मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। तर, चौतर्फी आलोचना भएपछि अर्थ मन्त्रालयले उक्त प्रावधानलाई अस्वीकृत गर्दै हटाएको छ।
शिक्षामन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झाले सवारीसाधन सहुलियतको व्यवस्था नियमावलीबाट हटिसकेको पुष्टि गरेका छन्। नियमावलीको एघारौँ संशोधनसम्बन्धी छलफलमा बोल्दै उनले अर्थ र कानुन मन्त्रालयको सुझावपछि उक्त प्रावधान हटाइएको जानकारी दिए।
“निजामती कर्मचारीसरह शिक्षकलाई पनि तहगत रूपमा सवारीसाधनको सुविधा दिन सकिन्छ कि भन्ने सोचले प्रस्ताव अघि सारिएको थियो,” सल्लाहकार झाले भने, “तर, यसमा यति धेरै विरोध भयो कि अर्थ मन्त्रालयबाट स्वीकृत नै हुन सकेन, अहिले कानुन मन्त्रालयको रायसहित यो व्यवस्था हटिसकेको छ।”
# के थियो प्रस्तावित व्यवस्था ?
मन्त्रालयले तयार पारेको मस्यौदामा बैंकमार्फत सवारीसाधन खरिद गर्दा लागत रकमको ८० प्रतिशतसम्मको किस्ताको ब्याज सरकारले सहुलियतस्वरूप व्यहोर्ने र शिक्षकले २० प्रतिशत रकम आफैँ व्यवस्थापन गर्नुपर्ने उल्लेख थियो। जसमा तहगत रूपमा देहायबमोजिमको सुविधा प्रस्ताव गरिएको थियो:
माध्यमिक तह (प्रथम श्रेणी): ५० लाख रुपैयाँसम्मको चारपाङ्ग्रे सवारीसाधन
माध्यमिक तह (द्वितीय श्रेणी): ४० लाख रुपैयाँसम्मको चारपाङ्ग्रे सवारीसाधन
माध्यमिक (तृतीय), निम्नमाध्यमिक र प्राथमिक तह (सबै श्रेणी): ४ लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन
# कार्यान्वयनको जटिलता
देशभर हाल विभिन्न प्रकारका गरी कुल २ लाख ८ हजार २ सय शिक्षक कार्यरत छन्। जसमा १ लाख १० हजार स्थायी दरबन्दी, ४० हजार राहत, ३० हजार बालविकास (ईसीडी), १२ हजार सिकाइ अनुदान, १० हजार प्राविधिक धार, ६ हजार साविक उच्च मावि र २ सय विषय शिक्षक रहेका छन्।
यति ठूलो संख्यामा रहेका शिक्षकलाई सवारीसाधनमा ब्याज सहुलियत दिँदा राज्यकोषमा अस्वाभाविक आर्थिक भार पर्ने र चौतर्फी आलोचना समेत भएपछि अन्ततः सरकार उक्त निर्णयबाट पछि हटेको मन्त्रालय सुत्रले जनाएको छ।
Advertisement




