लघुकथा : सिन्दुरको अधिकार
वार्षिक श्राद्धको सबै कर्म सकिएको थियो। घरमा भेला भएका आफन्तहरू बिस्तारै बिदाइ लिने तयारीमा थिए भने पण्डितजी आफ्नो झोला मिलाउँदै थिए। त्यत्तिकैमा, सेतो पहिरनमा सजिएकी सम्पदा अचानक उठिन् र सबैको नजर आफ्नोतर्फ खिच्दै सोधिन्,
”पण्डितजी, एउटा प्रश्न सोधूँ?”
”भन्नुस् न!” पण्डितजीले अचम्मित हुँदै उत्तर दिए।
”आज मेरो श्रीमान्को वार्षिक श्राद्ध हो। उहाँलाई सम्झेर मैले सबै विधि–विधान पूरा गरेँ। तर, एउटा कुरा अझै बाँकी छ।”
त्यो सुनेर त्यहाँ उपस्थित सबैका आँखा आश्र्चयले सम्पदातिर सोझिए।
सम्पदाले सिरानीमुनि लुकाएर राखिएको सानो सिन्दुरको डिब्बा बाहिर निकालिन् र गदगद कण्ठले भनिन्,
“यो सिन्दुर उहाँले नै मेरो सिउँदोमा भरिदिनुभएको थियो। ब्रह्माण्डका करोडौँ नारीहरूमध्ये मेरै सिउँदोमा उहाँको हात परेको थियो। उहाँ भौतिक रूपमा बित्नुभयो भन्दैमा उहाँले दिएको मायाको चिनो र रङ पनि मेट्नुपर्ने हो र?”
सम्पदाको यो विद्रोही र गहिरो प्रश्नले मेरो मष्तिष्कमा बर्दियाको विगतको एउटा पाना पल्टादियो।
भग्नावशेषजस्तै बनेको कुर्सीको टेकोमा शरीर सम्हाल्दै गर्दा, बर्दियाको मुनलबस्ती र कण्ठपुरबीचको शीतलाबजारपछाडिको चौर मेरा आँखैअगाडि नाच्न थाल्यो। बाइस वर्षअघि एकल महिलाहरूको सञ्जालको सल्लाहकारका रूपमा बीस जना महिलालाई रातो टीका र सिन्दुर लगाउने अभियानको नेतृत्व गरेको त्यो दृष्य म कहिल्यै बिर्सन्नँ। हामीले उनीहरूका आफ्नै परिवारका सदस्यमार्फत सिन्दुर र रातो टीका लगाउने व्यवस्था मिलाएका थियौं।
त्यतिबेला मुस्लिम परिवारमा जन्मिएर पनि सामुदायिक वन अभियान्ताको अग्रपंक्तिमा रहेका बर्दिया सामुदायिक वन महासङ्घका अध्यक्ष प्रियमित्र महम्मदकर खाँ समेत मानसपटलमा स्पष्ट उभिनुभयो। वनकै केही रकम खर्च गरेरै भए पनि त्यो सामाजिक रूपान्तरणको अभियान अगाडि बढाइएको थियो।
एकलमहिला सञ्जालकी बर्दिया कि अध्यक्ष स्वर्गीय मङ्गलादेवी श्रेष्ठ र उपाध्यक्ष स्वर्गीय जमुना रेग्मी खरानबाट उठेर हातसमाउन आएजस्ताे लाग्याे।
त्यतिबेला समाजका केहिले हामीलाई ‘कुलङ्गार’ भन्यो, अनेकौँ लाञ्छना लगायो र खुलेरै गाली गर्यो। तर, समयले आफ्नै गति लियो। पछि गएर तिनै समाजका केही मानिसले जब आएर भने, “हामीले त्यतिबेला तपाईंलाई गाली गरेर ठूलो गल्ती गरेका रहेछौँ, माफ गरिदिनुहोला!”— तब हामीसँग केवल हल्का मुस्कान बाहेक अरू केही रहेन।
आज फेरि त्यही पुरानो प्रश्नले मेरो मनको ढोका ढकढक्यायो—
श्रीमान् बितेपछि के सिन्दुर लगाउने अधिकार पनि सँगै नज्मिनुपर्ने हो र? सिन्दुर त प्रेमको शाश्वत प्रतीक हो भने, प्रेमको मृत्युको घोषणा गर्ने अधिकार कसलाई छ? श्रीमानको मृत्युले श्रीमतीको सिउँदो क्षणिक रूपमा रित्तिएला, तर उनको मनमा बाँकी रहेको प्रेमको रङ कसले खोस्न सक्छ?
उता सम्पदाले आफ्नै बुहारीकाे हातबाट सिउँदाे भराउँदै सिन्दुरलाई निरन्तरता दिइन्
यता मैले मनमनै आफैलाई जवाफ दिएँ—
“सिन्दुरको रङ केवल रातो मात्र हुँदैन रहेछ, यो त प्रत्येक महिलाको स्वाभिमान र आफ्नै जीवनमाथिको अधिकारको रङ पनि हो।”
— कृष्ण खनाल, भरतपुर, चितवन।
Advertisement




