२०८३ असाेज ४, आइतबार
`नृसिंह कँडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित´
प्रेम प्रसाद कडेल / चितवन श्रीखबर/भरतपुर–४, धर्मचोक लङ्कुस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३२औँ वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।
सभाले नृसिंह कँडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ।
उपेन्द्रराज सापकोटाको अध्यक्षतामा सम्पन्न सभामा संस्थापक अध्यक्ष भुपतीदास सापकोटा प्रमुख अतिथि रहनुभएको थियो।
प्रमुख अतिथि सापकोटाले नवनिर्वाचित सञ्चालक समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको प्रगति र सदस्यको हितलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गर्नुभयो।
संस्थाका उपाध्यक्ष काशीनाथ सापकोटाले सहभागीलाई स्वागत गर्दै नवनिर्वाचित कार्यकारी समितिले सहकारीको संस्थागत विकास, आर्थिक सुदृढीकरण र सदस्यको हितका लागि प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो।
अधिवेशनबाट नृसिंह कँडेल अध्यक्ष, हरिप्रसाद खरेल उपाध्यक्ष, नरहरी सापकोटा सचिव र रामकुमार श्रेष्ठ कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।
त्यस्तै सञ्चालक सदस्यमा नारायण खरेल, धनपति सापकोटा, सिर्जना भट्टराई, शारदा सापकोटा र पम्फा ढुङ्गाना निर्वाचित हुनुभएको छ। यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा नरहरि कडेल तथा सदस्यमा प्रेमप्रसाद कडेल र जनार्दन ढकाल निर्वाचित हुनुभएको छ।
निर्वाचन समितिका संयोजक सुकदेव ढकाल तथा सदस्यद्वय विष्णुप्रसाद भट्टराई र सूर्य रिजालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो।
सभामा नवनिर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यलाई निवर्तमान अध्यक्ष उपेन्द्रराज सापकोटाले खादा तथा प्रमाणपत्र प्रदान गरी बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्थाले योगदान पुर्याउने ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै कर्मचारी हरिप्रसाद कडेलसहित ६ जनालाई विभिन्न विधामा पुरस्कार प्रदान गरेको थियो। साधारणसभामा करिब एक हजार शेयर सदस्यको सहभागिता रहेको थियो।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नृसिंह कँडेलले संस्थाको आगामी कार्यदिशा, सदस्यको हित र सहकारीको संस्थागत उन्नयनका लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
साधारणसभाले सहकारीको आगामी यात्राका लागि नयाँ नेतृत्व चयन गर्दै संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउने जिम्मेवारीसमेत नयाँ सञ्चालक समितिलाई दिएको छ।




