२०८२ पुष १४, आइतबार
श्रीखबर/ चितवन, आन्तरिक राजश्व कार्यालय खैरहनीबाट हुँदै आएका महत्वपूर्ण कर सम्बन्धी सेवा अब पूर्वी चितवनका चार स्थानीय तहबाटै उपलब्ध हुने भएका छन्।
यस सम्बन्धी सम्झौतापत्रमा आज भरतपुरमा आयोजित विशेष कार्यक्रममा हस्ताक्षर गरिएको छ।
सम्झौताअनुसार नगरपालिकाको क्षेत्रभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिहरुलाई व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) जारी गरिने छ भने नगरपालिकाको ठेगानामा दर्ता भएका व्यवसाय तथा निकायहरुलाई व्यवसायिक प्यान प्रदान गरिने व्यवस्था गरिएको छ।
यसैगरी नगरपालिकाको क्षेत्रभित्र ठेगाना भएका व्यक्तिगत व्यवसाय तथा संस्थाले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ताका लागि निवेदन दिएमा आवश्यक कागजात परीक्षण गरी आन्तरिक राजश्व कार्यालय भरतपुरमा सिफारिस गरिने र दर्ता प्रमाणपत्र उपलब्ध गराइने छ।
नगरपालिकाको क्षेत्राधिकारभित्र अन्तःशुल्क ईजाजतपत्र आवश्यक पर्ने व्यवसायका लागि नयाँ अन्तःशुल्क ईजाजतपत्र तथा नविकरण प्रक्रिया समेत स्थानीय तहबाटै कागजात भिडान गरी आन्तरिक राजश्व कार्यालय भरतपुरमा सिफारिस गरिने सम्झौतामा उल्लेख छ।
करदाता सेवामा थप सहजता ल्याउँदै कर चुक्ता प्रमाणपत्र माग गर्ने करदाताको कागजात जाँच गरी प्रमाणपत्र उपलब्ध गराउने काम पनि अब पालिकाबाटै हुने भएको छ।
करदाताको दर्ता विवरण संशोधन गर्नुपरेमा आवश्यक कागजातका आधारमा संशोधन गर्ने र स्थानीय तहबाट सम्भव नभएमा भरतपुर कार्यालयमा सिफारिस गरिने व्यवस्था गरिएको छ।
यस्तै नगरपालिकाभित्रका करदातालाई आयकर, भ्याट र अन्तःशुल्क सम्बन्धी कानुन तथा प्रक्रियाबारे जानकारी दिन करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय भरतपुरको सहकार्यमा सञ्चालन गरिनेछ।
अर्थ सचिव डा. घनश्याम उपाध्याय र अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्मा को उपस्थितिमा आन्तरिक राजश्व कार्यालय भरतपुर र तीन स्थानीय तहका प्रशासकीय प्रमुखबीच सम्झौतामा हस्ताक्षर भएको हो।
खैरहनी नगरपालिकाबाहेक अन्य तीन पालिकासँग सम्झौता सम्पन्न भएको जनाइएको छ। सो अवसरमा अर्थ सचिव उपाध्यायले नागरिकलाई घर नजिकै एकद्वार प्रणालीबाट कर सेवा उपलब्ध गराउने सरकारी नीति अनुसार स्थानीय तहबाट सेवा सुरु गरिएको बताउनुभयो।
उहाँले आगामी दिनमा सबै करसम्बन्धी काम स्थानीय तहबाटै सञ्चालन गर्न सकिए राज्यको भार कम हुनुका साथै कर संकलन बढ्ने उल्लेख गर्नुभयो।
सेवा केन्द्र टाढा नबनाई नागरिक नजिक पुर्याउन खोजिएको भन्दै उहाँले स्थानीय तहका जनशक्तिलाई आवश्यक तालिम र सामग्री उपलब्ध गराइने बताउनुभयो। यसबाट कर संकलनको लागत घट्ने उहाँको भनाइ छ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले कर सेवा स्थानीय तहबाटै दिन पाउनु गर्वको विषय भएको बताउँदै यस अभ्यासलाई अझ प्रभावकारी र फराकिलो बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो।
आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख पुण्यबिक्रम खड्काले तीन पालिकासँग सम्झौता सम्पन्न भइसकेको जानकारी दिँदै खैरहनी नगरपालिकासँग पनि छिट्टै सम्झौता गरेर माघ १ गतेदेखि चारै पालिकाबाट सेवा सुरु गरिने स्पष्ट पार्नुभयो।
माघ १ गतेसम्म आवश्यक प्रशिक्षण र व्यवस्थापन पूरा गरी नियमित सेवा सञ्चालन गरिने उहाँले बताउनुभयो।
यससँगै अब करसम्बन्धी स-साना कामका लागि राजश्व कार्यालय धाउनुपर्ने बाध्यता हट्ने र नागरिकले आफ्नै स्थानीय तहबाट सेवा पाउने अपेक्षा गरिएको छ।
सरकारले गत कात्तिक १७ गते चितवनको आन्तरिक राजश्व कार्यालय खैरहनीबाट हुने कतिपय सेवा स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो।


