३२ असार २०८२, बुधबार
शुक्रवार आगामी वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाएर २ दशमलव ७५ प्रतिशत निर्धारण गरिएको थियो । गभर्नर विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरुमा प्रत्यक्ष देखिएको छ ।
सबैजसो बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर साउनका लागि तोक्दै असारको तुलनामा धेरै नै घटाएका छन । नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशत कायम गरिएको थियो । बजारमा मुद्रा आपूर्ति बढाउने राष्ट्र बैंकको नीतिलाई टेवा पुग्ने गरी बैंकहरुले ब्याजदर घटाएका हुन् ।
कृषि विकास बैंकले ५.४५ प्रतिशत मुद्दति निक्षेपमा ब्याज दिर्दै आएकोमा साउनमा ५.४० प्रतिशत दिने भएको छ ।एभरेष्ट बैंकले असारमा ६.५५ प्रतिशत ब्याज दिँदै आएकोमा अब मुद्दति निक्षेपमा साउनबाट ६.२५ प्रतिशत दिनेछ ।
यस्तै अर्को ठूलो बैंक नेपाल बैंकले ५.४५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनका लागि ५.४० प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकले असारमा ५.७५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनमा ५.५० प्रतिशत ब्याजदर दिने बताएको छ । यस्तै माछापुच्छ्रे बैंकले असारका लागि ६ प्रतिशत दिँदै आएकोमा उसले भने साउन पनि त्यही नै लागू गर्ने बताएको छ ।
एनआईसी एशिया असारको तुलनामका ब्याजदर घटाएको छ । असारमा सो बैंकले ६.५५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा साउनमा त्यस्तो खातामा ६.२५ मात्रै ब्याज दिने बताएको छ । यस्तै, प्रभु बैंकले समेत ब्याजदरमा धेरै घटाएको छ । असारमा सो बैंकले मुद्दति निक्षेपतर्फ ६.१० प्रतिशत ब्याज दिने गरेकोमा साउनमा अब ४.२५ प्रतिशत मात्रै ब्याज दिनेछ ।
यसरी बैंकहरुले मुद्दती निक्षेपमा ब्याजदर धमाधम घटाउन थालेपछि सर्बसाधारण आत्तिने खतरा बढेको छ । ब्याजदर घटेसँगै आम सर्बसाधारण बैंकमा पैसा नराखेर कतिपयले पुँजीलाई पलायन गराउन सक्ने जोखिम बढेको छ । बैंकहरुले यसरी भारी रुपमा ब्याजदर कटौती गरेको पहिलो पल्ट हो । राष्ट्र बैंकले नै ब्याजदर घटाउने नीति ल्याएका कारण आगामी दिनमा अझै ब्याजदर घट्ने देखिन्छ ।




