२०८१ श्रावण ३०,बुधबार

चितवन । नेकपा एमालेमा नीति र नेतृत्वका लागि कुनै विवाद नभएकाे र मिसन ८४ काे नेतृत्व समेत अध्यक्ष केपि शर्मा ओलीले गर्ने एमालेका स्थायी कमिटी सदस्य  तथा  बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले बताएका छन् ।

एमाले चितवन द्वारा पार्टी कार्यालयमा आयाेजित निवर्तमान इन्चार्जकाे बिदाई र नयाँ ईन्चार्ज सहित केन्द्रीय नेताहरुकाे स्वागत कार्यक्रम साे बताएका हुन् । बागमती प्रदेश ईन्चार्जकाे जिम्मेवारीमा चितवन आएका भट्टराईले पार्टीले विस्तारै लय समात्दै गरेकाे बताउँदै नेता तथा कार्यकर्ताकाे मुल्यांकन जिम्मेवारी र कामकाे आधारमा हुने समेत बताए ।

देशलाई सधैं अस्थिर राजनीतिकाे बन्धक हुनबाट जाेगाउँदै देशी विदेशीकाे क्रिडास्थलबाट राेक्न र स्थिर सरकारकाे आभाष दिन नेपाली काँग्रेससँग मिलेर सरकार गठन गर्नुपरेकाे बताउँदै डा. भट्टराईले आगामी दिनमा सबै तहका निर्वाचन पार्टीले एक्लै लड्ने बताए ।

साेहि सभामा स्थायी कमिटी सदस्य तथा सँगठन विभाग प्रमुख काशीनाथ अधिकारीले हरेक तहमा मतदाता सँख्याकाे ६ प्रतिशत पार्टी सदस्य निर्माण गर्न र सबै तहका नेताहरुले मासिक रुपमा आफ्नाे कामकाे प्रगति विवरण माथिल्लो कमिटीमा पठाउन निर्देशन दिए ।

पुनः चितवन जिल्लाकाे ईन्चार्जकाे जिम्मेवारी पाएका पाेलिटव्यूराे सदस्य देवी ज्ञावलीले पार्टीको आन्तरिक एकता कायम गर्दै जिम्मेवारीलाई समयमै पुरागर्न निर्देशन दिएका थिए ।

एमालेले केन्द्रीय नेताहरुलाई निर्वाचन ईन्चार्ज समेत ताेकिएकाे जनाएको छ । चितवनको एक नम्बर क्षेत्रका लागि इन्चार्ज प्रभा बराललाई ताेकिएकाे छ भने कृष्णभक्त पाेख्रेल २ नम्बर क्षेत्र र ३ नम्बर क्षेत्रका लागि भने जेएन थपलिया , पार्वती रावल र यमबहादुर परियार रहेकाे एमाले चितवनका अध्यक्ष कमल पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0