पोखरा विश्वविद्यालयकाे सम्वन्धनमा ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई आईटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको अध्यापन सुरु

२०८१ श्रावण २५, शुक्रबार

चितवन । भरतपुर–११ स्थित युनाइटेड टेक्निकल कलेज (युटेक)ले स्नातक र स्नातकोत्तर तहमा इन्जिनियरिङ विषयमा नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।

कलेजले पोखरा विश्वविद्यालयकाे सम्वन्धनमा ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी (बिई आईटी) तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको अध्यापन सुरु गरेको कलेजका प्रिन्सिपल एवम् शैक्षिक निर्देशक प्रा.डा. केशवदत्त अवस्थीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

बिईआईटीमा ४८ जना तथा एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा ६ महिने सेमिस्टर प्रणाली अन्तर्गत ३० जना विद्यार्थी भर्ना लिनेगरि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको अवस्थीको भनाइ छ ।

यसै वर्षबाट सुरु गरिएको चारवर्षे स्नातक तहमा अध्ययनका १० लाख ६८ हजार रुपैयाँ खर्च हुने भने स्नातकोत्तरका लागि पाँच लाख ५३ हजार रुपैयाँ शुल्क लाग्ने अवस्थीले बताउनुभयो ।

यसै अवसरमा कलेजमा अध्ययन गर्न भरतपुर महानगरपालिकाभित्रबाट भर्ना हुने विद्यार्थीहरुका लागि थप १५ प्रतिशत छुट दिइने तथा भरतपुर ११ का बासिन्दालाई थप सहुलियत प्रदान गरिने समेत बताइएकाे छ ।

त्यस्तै, शुक्रबार आयाेजित कार्यक्रममा कलेजले थप गरिएको साे विषयकाे शुभारम्भकाे साथै ‘जर्नल अफ युटेक इन्जिनियरिङ म्यानेटमेन्ट’को दोस्रो संस्करण समेत विमाेचन गरिएको थियाे ।

हाल कलेजले स्नातक तहमा बीई कम्प्युटर, बीई सिभिल, बीई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा स्नातकोत्तर तहमा एमएससी इन कन्सट्रक्सन म्यानेजको अध्यापन गराइरहेको छ।

साे कलेजबाट हालसम्म पाँच सय भन्दा बढी इन्जिनियरहरु उत्पादन भै विदेशर स्वदेशका विभिन्न क्षेत्रहरुमा सेवारत रहेका कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिनुभयो ।

पोखरा विश्वविद्यालयबाट लिइने परीक्षामा युटेकबाट विद्यार्थीहरुले चार जिपिएसहित उत्कृष्ट नतिजा ल्याउने गरेका ढकालले बताउनुभयो ।

यस कलेजका विद्यार्थीहरुले डिन लिस्टमा समेत समावेश भइ कलेज तथा विश्वविद्यालय परिवारलाई गौरवान्वित बनाएका भन्दै ढकालले कलेजमा उत्कृष्ट आधुनिक ल्याब, पुस्तकालयका साथै हरेक कक्षामा पावर पोइन्ट प्रोजेक्टर तथा स्मार्ट बोर्डको माध्यमबाट पढाइ हुँदै आएको कलेजले जनाएको छ। कलेजमा युनाइटेड टेक क्लब र युनाइटेड रोबो क्लबमार्फत विद्यार्थीहरुले विभिन्न आविष्कारका नयाँ मोडलहरु तयार गर्दै आन्तरिक तथा अन्तरकलेज प्रतियोगितासमेत गर्दै आएकाे कलेजका अध्यक्ष चुडामणि खनालले बताउनुभयो ।

क्लबले २०२२ मा राष्ट्रिय स्तरको युटेक ह्याकाथन अल्फा, २०२३ मा राष्ट्रियस्तरको युनाइटेड टेक फ्युजन, रोबो फुटबल, प्रोजेक्ट डेमोस्टेसनलगायतका कार्यहरु सम्पन्न गरिसकेको छ । कलेजले आगामी सेप्टेम्बर २२ मा ‘दिगो निर्माण, प्रविधि, व्यवस्थापन, चुनौती र अवसर’ विषयमा अन्तर्राष्ट्रिय गोष्टी गर्न लागेको अध्यक्ष खनालले जानकारी दिनुभयो ।

इन्जिनियरिङका विषयहरुमा उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले काठमाडौं बाहिर विसं २०६५ मा स्थापना भएको युटेकले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आईएसओ ९००१ः२०१५ प्रमापत्र प्राप्त गर्नुका साथै नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यतासमेत पाएको छ।

कलेजको नयाँ शैक्षिक कार्यक्रम शुभारम्भको अवसरमा प्रमुख अतिथि पोखरा विश्वविद्यालय प्रविधि तथा विज्ञान संकायका डिन प्राध्यापक राजेशकुमार ठगुराठीले नयाँ कार्यक्रमको अवसरका बारेमा प्रकाश पार्नुभएको थियो । यो विषयले यस क्षेत्रको आईटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिनसक्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

विश्वविद्यालयले विभिन्न चारवटा संकायमा अध्यापन गराउँदै स्नातकदेखि विद्यावारिधिसम्म झण्डै ६५ वटा कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पुलचोक क्याम्पसका निर्देशक एवम् आईटी विज्ञ प्रा.डा. सुवर्ण शाक्यले बीई आईटीको बारेमा तथा पुलचोक क्याम्पसका उपप्राध्यापक एवम् ट्रान्सपोटेसन इन्जिनियरिङ विज्ञ डा. प्रदीप श्रेष्ठले एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका बारेमा जानकारी गराउनुभएको थियो ।

कलेज द्वारा प्रकाशित जर्नलका बारेमा प्रधान सम्पादक डा. अन्जय कुमार मिश्रले प्राध्यापकहरुको लेख रचना राख्न विदेशमा ठूलो रकम खर्च गर्नुपर्ने भन्दै आफूहरुले अनुसन्धानमा आधारित रहेर जर्नल प्रकाशन गरेको बताउनुभयो ।

भरतपुर ११ चितवनमा सञ्चालित युटेक कलेजले देशकै शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण भुमिका निभाएकाे महशुस भएकाे भरतपुर ११ का वडाध्यक्ष कमल मल्ल बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0