१०८१ असाेज १८,शुक्रबार

ललितपुर,काठमाडौं, भक्तपुरसहित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारले तयारी गरेको छ।

बाढी, पहिरो, र डुबानबाट अत्यधिक प्रभावित १४ जिल्लामा पुनःस्थापना र पुनर्निर्माण कार्यलाई तीव्रता दिनका लागि सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो। बैठकको अध्यक्षता गृहमन्त्री रमेश लेखकले गरेका थिए।

असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी, पहिरो, र डुबानले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले अति प्रभावित क्षेत्र पहिचान गरी संकटग्रस्त घोषणा गर्न लागेको हो। प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्‌मा २३९ जनाको मृत्यु भएको, १६९ जना घाइते भएका, र १८ जना अझै बेपत्ता रहेको जानकारी दिइएको छ। त्यस्तै, १७,१२० जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ।

सहसचिव वसन्त  अधिकारीका अनुसार ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, र धादिङ गरी १४ जिल्लालाई बढी प्रभावित ठहर गरिएको छ।