२०८१ असाेज ३, बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा) का उपसभापति स्वर्णिम वाग्लेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने बताएका छन्।

बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउने व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

यस्तै उनले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गरेसँगै प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने बताए।

‘माथि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री मागेपछि तल पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्यो‍। विज्ञहरूको मन्त्रिमण्डल र प्रदेश सभाको रूप चाहिँ गाउँपालिकाका सदस्यहरू जो हुनुहुन्छ, त्यहीलाई नै विधायकी फङ्शन दिएर जाँदाखेरी अहिलेको जनगुनासो सम्बोधन गर्न सकिन्छ। शासकिय स्वरूप, समावेशिता र वित्तीय संघीयता यी तिनवटै विषय असाध्यै महत्वपूर्ण छन्,’ उनले भने।

उनले मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा तीन तहका सरकारका बीचमा अन्यौलता सिर्जना भइरहेको बताए। उनले स्थानीय तह र प्रदेश सरकारले पनि संविधानको मर्म अनुसार काम गर्न नसकेको बताए।

उनले पालिकाहरूलाई एकीकृत गरेर ५०० वटाभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताए। ‘स्थानीय पालिकाहरू अब ७५३ वटा पनि चाहिँदैन। ५०० भन्दा मुनिमै जाऔँ। धेरै पालिकाहरू मर्ज भएर आर्थिक दृष्टिले पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ। समन्वयकारी, छरितो निकाय बिचमा रहोस्,’ उनले भने।

न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0