अदालतले सोडारीलाई भ्रष्टाचार निवारण ऐनको कसुरमा छ महिना कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ

२०८१, असार २८, शुक्रबार

काठमाडौं । सुदुरपस्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर साेडारीकी पत्नी गीता साेडारीकाे शैक्षिक प्रमाणपत्र नक्कली प्रमाणीत भएकाे छ ।

सोडारीले नक्कली प्रमाणपत्रका आधारमा कैलालीको धनगढी उपमहानगरपालिका–९ को शिव निम्न माध्यमिक विद्यालयमा प्राथमिक तहको राहत शिक्षकको नियुक्ति लिनुभएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको थियो । अख्तियारले २०७९ असोज ७ गते मुद्दा दायर गरेको थियो । योग्यता ढाँटेर झुटा विवरणका आधारमा राष्ट्र सेवकको ओहोदा प्राप्त गरेको अख्तियारको आरोप थियो ।

अदालतले सोडारीलाई भ्रष्टाचार निवारण ऐनको कसुरमा छ महिना कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । फैसलामा चित्त नबुझ्ने पक्षले अब सर्वोच्च अदालतमा पुनरावेदनको सुविधा पाउने छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले करिब दुई वर्षअघिको मुद्दामा दोषी ठहर गरेको हो । बोर्ड अफ सेकेन्डरी एजुकेसन दिल्लीबाट एकै तहका दुई वटा नक्कली शैक्षिक प्रमाणपत्र बनाई त्यसका आधारमा राहत शिक्षक नियुक्त भएको अभियोग सोडारीमाथि लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0