२०८१ असाेज १३, आइतबार

चितवन मेडिकल कलेज तथा शिक्षण अस्पताल चितवनकाे मात्र नभै नेपाल कै एक स्थापित अस्पताल हाे ।

विगत २० वर्षदेखि मुटुराेगकाे विभाग स्थापना गरि मुटु र साेसँग सम्वन्धित राेगकाे उपचार गरिरहेकाे साे अस्पतालले हालसम्म दश हजार भन्दाबढी मुढुराेगीकाे शल्यक्रिया गरिसकेको जनाएको छ।

अस्पतालले आइतबार आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्रताप देवकोटाले अस्पतालले हालसम्म क्याथल्यावबाट १० हजार २ सय ५० जनाकाे शल्यक्रिया गरिसकेको बताउनुभयो । त्यस्तै ७ सय १८ जनाकाे मुटुमा ब्याट्री समेत राखेकाे र ५ हजार १ सय ७३ जनाकाे मुटुमा जाली राखेकाे निर्देशक देवकोटाले बताउनुभयो ।

सिटिभिएस मार्फत हालसम्म १ हजार ३०० जनाको शल्यक्रिया गरिएको छ । सिटिभिएस भनेको कार्डियो भास्कुलर थेरापिक सर्जरी हो । यो अवधिमा सात दिनको बच्चादेखि ७८ वर्षको बुद्धसम्मको शल्यक्रिया गरिएको कार्यकारी निर्देशक देवकोटाले बताउनुभयो ।

मानिसहरुको जिवनशैलीका कारण मुटुरोगका बिरामी बढ्दै समेत गएका छन् । यस कलेजमा मात्रै दैनिक दुई सय जना मुटुरोग सम्बन्धी समस्या लिएर आउने गरेको मुटुरोग विशेषज्ञ प्रा.डा. श्यामराज रेग्मीले जानकारी दिए । उनका अनुसार सूर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपन, शारीरिक निस्क्रियता, मदिराजन्य वस्तुको प्रयोग, वायू प्रदुषण, मानसिक तनावका कारण मुटुमा समस्या हुने गर्दछ । यी विषयमा ध्यान दिएमा ८० प्रतिशत मुटुरोगीहरुले अकालमा मृत्युवरण गर्न नपर्ने उनले बताए ।