डा. शालिग्राम पराजुलीले कम्प्युटर विज्ञान र दूरसञ्चारमा उच्च शिक्षा प्राप्त गर्दै क्लाउड कम्प्युटिङ र ई-गभर्नेन्समा विद्यावारिधि (Ph.D.) गरेका छन्।

 

२०८१ असाेज ८, मँगलबार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डा. शालिग्राम पराजुलीलाई सूचना प्रविधि विज्ञका रूपमा नियुक्त गरेको छ।

दूरसञ्चार क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका डा. पराजुलीले नेपालको सूचना प्रविधि क्षेत्रलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

डा. पराजुली हाल साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्रका महासचिवको रूपमा कार्यरत छन्। साइबर सुरक्षा तथा नवप्रवर्तनमा उनको विशेषज्ञता नेपालको साइबर पूर्वाधार र सूचना प्रविधि शासनलाई मजबुत बनाउनका लागि अत्यन्त महत्वपूर्ण छ। उनले नेपाललाई उदाउँदै गरेको साइबर खतराबाट बचाउन रणनीतिहरू विकास गर्न महत्वपूर्ण योगदान दिएका छन्।

चितवन जिल्लाको माडी नगरपालिकास्थित बारुवा बजारमा जन्मिएका डा. पराजुलीले आफ्नो प्रारम्भिक शिक्षा सोमेस्वर माध्यमिक विद्यालयबाट पूरा गरेका थिए। उनले कम्प्युटर विज्ञान र दूरसञ्चारमा उच्च शिक्षा प्राप्त गर्दै क्लाउड कम्प्युटिङ र ई-गभर्नेन्समा विद्यावारिधि (Ph.D.) गरेका छन्। यी क्षेत्रहरूमा उनले हासिल गरेका शैक्षिक उपलब्धिहरूले सूचना प्रविधि प्रणाली सुधार गर्ने र डिजिटल शासनलाई प्रवर्द्धन गर्ने उनको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

डा. पराजुलीको दूरसञ्चार क्षेत्रमा करियर झण्डै दुई दशकअघि नेपाल टेलिकम्युनिकेसन कर्पोरेसनबाट सुरु भएको हो। पछिल्ला दुई वर्षदेखि उनी नेपाल टेलिकमका निर्देशक (गजेटेड प्रथम श्रेणी) को पदमा कार्यरत छन्। यस भूमिकामा उनले देशको दूरसञ्चार पूर्वाधार सुधारका विभिन्न परियोजनाहरूमा सक्रिय भूमिका खेलिरहेका छन्।