नेपालमा गजल युवाकवि मोतीराम भट्ट ( १९२३-१९५३ ) ले भित्र्याएका हुन्
२०८१ भाद्र १,शनिबार
१. प्राक्कथन :
प्राचीन इरानको पश्चिमी भेगलाई फारस र त्यहाँको प्राचीन भाषालाई फारसी भनिन्थ्यो । गजल अरबी शब्द हो तापनि यसको उद्भव भने फारसी साहित्यबाट भएको हो । फारसी साहित्यबाट नै हिन्दी र उर्दू भाषासाहित्यमा गजलको सतह फैलिंदै गएको हो ।नेपालमा युवाकवि मोतीराम भट्ट ( १९२३-१९५३ ) ले भित्र्याएका हुन् ।
                               
उर्दूभाषामा शिष्ट र शालीन शब्दहरू भएकाले उर्दूसाहित्य विशिष्ट साहित्य भएको हो भन्ने कुरा भाषापारखीहरू उति मान्दैनन् । कारण मुल्ला , वजही , सौदा , मीर र गालिबजस्ता हिन्दी र उर्दूका मूर्धन्य साहित्यकारहरुले आफ्ना शेरहरूलाई हिन्दीशेर भनेका छन् ।हिन्दी र उर्दूलाई सहजतापूर्वक समानार्थी भाषाका रूपमा लिएका छन् । हिन्दीभाषाबाट नै उर्दूको विकासको क्रम बुझिने यथार्थलाई भाषाविदहरूले स्वीकारेका छन् ।
                             
हिन्दी र फारसी भाषामा समान क्षमता राख्ने अमीर खुशरो ( १२५३-१३२५ ) ले दुवै भाषामा गजल रचना गरे भने तात्कालीन भारतको शाहीभाषा फारसी बन्दै गर्दा गुरु नानक ( १४६९-१५१८ )ले आध्यात्मिक दोहाका माध्यमबाट अप्रत्यक्ष गजलकै रसस्वादन गराए भने पन्ध्रौं शताब्दीमा कबीर ( १४४०-१५१८ई. ? ) ले गजलको यथाशक्य मलजल गरे ।
ग’ले वाणी ‘ज’ले जनाना र ‘अल’ले सँगैको भनी बुझिने र ‘मन परेकी कुनै लावण्यवती वा सुन्दरीसित वा कुनै सुकुमारीले तरुणसँग वा दिलदारसँग गरिने सुललित कवितामय प्रणयवार्तालाई गजल भन्ने गरिन्थ्यो । १६औं शताब्दीतिर हिन्दुस्तानका मुगल बादशाहहरू आलिशान महलमा बादशाहीको नशामा ‘शाकी , शबनम र शराब’ भन्दै गजलका दिवानाहरूले मस्तानाको फागु उडाए ।
शायर वली औरङ्गावादी ( १६३८-१७०० ई. ) , मिर्जा गालिब ( १७९६-१८६९ ई. ) , मीर तकी मीर ( १७२४-१८१० ई. ) , ख्वाजा मीर दर्द ( १८१९-१८२५ ई. ), मुसहफी ( १७५०-१८२४ ई. ) , नसीम १७९४-१८६४ ई. ) , जौक ( १७८९-१८५४ ई. ), नासिख ( मृत्यु १८३८ ई ? ) दाग उर्फ मिर्जा खाँ ( १८३१-१९०५ ई. ), मोमिन ( १८००-१८५१ ई ) आदिका गजलले शृगारिकधारामा हिन्दुस्तान चुर्लुम्म डुबेको थियो ।यिनीहरूकै पदचिह्न पच्छ्याउँदै हाली ( १८३७-१९१४ ई) , इस्माइल ( १८४४-१९१७ ई ) , इकवाल ( १८७५-१९३८ ई )का साथै जोश , मलीहावादी फानी , असगर , जिगर , असर , रविश , अर्श , फैज अहमद ‘फैज’ ,फिराक , जज्बी मखदूम , जाँ निसार , जाफरी , अजमतुल्लाह खाँ , अखतर , शिरानी , हफीज आदिले गजलको प्रगति , उन्नति र विकासमा निभाएका भूमिकाहरूले पनि गजललाई ‘प्रणय- पुराण’ हो भनिने कथनलाई कमजोर पार्न सकेनन् र ‘प्रगतिशीलता’को अतीतको मोहजन्य शृङ्गारिक धाराका धूमिल असरहरू रहिरहे ।
२. समीक्ष्य लेखनको उद्देश्य र उपादेयता :
वीरेन्द्र बहुमुखी क्याम्पस एल्मुनाइ एसोसिएसनले ‘प्राकाश पुञ्ज’ ( अङ्क-९,) प्रकाशन हेतु लेख रचनाका लागि मलाई उपलब्ध गराइएको पत्रमा’प्रहतिशील साहित्यमा गजलको स्थान’ भनी उल्लिखित रहेकोले गजलको गजलको दशौं शताब्दीदेखि वर्तमान अवस्था सम्मको ऐतिहासिक तथ्यगत विववरणलाई सूत्रात्मक सङ्केतमात्र गरिनु समीचीन होला ।
विषयवस्तुमा प्रवेश गर्नु अघि यति भन्नु असान्दर्भिक नहोला । सन् २०१९ मार्च २४ मा हिन्दुस्तानको हरियाणा नारनौरमा सम्पन्न अन्तर्राष्ट्रिय नागरी लिपि सम्मेलनमा मलाई ‘मनुमुक्त ‘मानव’ IPS नागरी लिपि सम्मान’ द्वारा सम्मान गरिएको थियो । यो सम्मानले मलाई देवनागरी लिपिप्रति अरू जागरुक बनाएको छ र त्यसको छाया यस लेखमा प्रतिबिम्बित हुने नै छ ।
उद्भवकालदेखि नै उर्दू-फारसी भाषाको लिपिमा गजलको रचना हुँदै आएको हो । आज गजलको लोकप्रियता एकातिर उचालिएको छ भने अर्कोतिर उर्दूको भाषिक लिपिचिह्न-विधानले देवनागरी लिपिका अनुयायी माझ जटिलता थपिदिएको छ ।
३ . देवनागरी लिपि र नेपालीगजलको स्थिति :
देवनागरी लिपि डिका ( शिरोरेखा ) दिएर लेखिने नेपालको सर्वाधिक प्रचलित लिपि हो । संस्कृत , पालि , प्राकृत , हिन्दी , भोजपुरी , मैथिली , अवधी , थारु आदि भाषाहरू देवनागरी लिपिमा लेखिन्छन् । फारसी , गुजराती र अङ्ग्रेजी ध्वनिहरूले देवनागरी लिपिलाई सूक्ष्म स्पर्श गरे पनि देवनागरी लिपिको सर्वोपरि विशेषता “यथा उच्चरते तथा लिख्यते । यथा लिख्यते तथैव पठ्यते ।” रहेको यो लिपि वर्णाङ्कन ध्वनि अनुसार हुनेहुँदा जस्तो बोलिन्छ,त्यस्तै लेखिन्छ , जस्तो लेखिन्छ त्यस्तै पढिन्छ । एउटा ध्वनिका लागि एउटामात्र लिपिचिह्नको प्रयोग हुन्छ । उच्चारणअनुसारको लेखाइ नहुनुका कारंणले अङ्गेजीका शब्दहरूको स्पेलिंग ( हिज्जे ) नघोकी धर पाइदैन ।
गजल लेखनका लागि कतिपय गुरुहरूद्वारा मात्रा गिरावटका प्रनियमहरू अघि सारिए पनि एउटा उर्दू लिपिचिह्नबाट एकाधिक ध्वनि-चिह्नहरू प्रकट हुनेहुँदा उर्दू लिपिका इतर पाठकहरूको समझ बाहिरको सन्दर्भ बन्न पुग्दछ ।जस्तै- ‘अलिफ’ ( उर्दू वर्णमालाको पहिलो अक्षर ) जसले ‘अ’ , ‘आ’ , ‘इ’ , ‘उ’ को काम गर्दछ । ‘वाव’ लिपिचिह्नले ‘व’ ‘ऊ’ ‘ओ’ ‘औ’ ध्वनिहरू व्यक्त गर्दछ । त्यस्तै ‘असीर’ शब्द उर्दूमा पाँच प्रकारले लेखिन्छ र सबैको अर्थ अलगअलग हुन्छ ।जस्तै- कैदी , निष्केवल ( सिर्फ ) , दुष्कर , अङ्गुर , धुलो । ‘असीर’ जस्ता शब्दको अर्थ देवनागिरी लिपीय कोशले ठम्याउन सक्दैन र उर्दूलिपीय शब्दकोशलाई अघिसार्नु पर्दछ । कतिपय वर्णमा दिइने नुक्ता ( बिन्दु )ले पनि अर्थ र उच्चारणमा अन्तर थपिदिन्छ । देवनागरी लिपि र उर्दूलिपिका बिच देखिने अर्थ र उच्चारणगत भेदका बारेमा लेख्ने हो भने अर्को छुट्टै महाग्रन्थ तयार हुनसक्दछ तैपनि गजल रचनाको निम्ति अपनाइने लचकताले भोलिका दिनमा भाषामा पर्ने असरप्रति सजग हुनुपर्ने देखिन्छ ।
क. बहरे हजज मुसम्मन सालिम ( मफाईलुन् + ४ ) आधारित शेर-
तडपते हैं उन्हें गैरों की चाहत ऐसी होती है
खुदा की शान है ऐसों की हालत ऐसी होती है । -दाग ।
माथिको शेरलाई तक्तिअ ( पद्यको कुनै चरणको अक्षरहरूको गणहरूमा मात्राहरू बराबरी भए नभएको हेरिने क्रिया ) विधिअनुसार जाँच्दा-
१२२२ १२२२ १२२२ १२२२
तडप्ते हैं / उन् हें गैरों / कि चाहत् ऐ/ सि होती है ।
खुदा की शा / न है,ऐसों / कि हालत् ऐ / सि होती है ।
ख . बहरे मुतदारिक मुसम्मन सालिम / स्रग्विणी ( फाइलुन् + ४) को शेर-
जैसे कश्मीरी झीलों की आगोश मे
नन्हें नन्हें सितारे उतर आये हों । -बशीर ‘बद्र’
तक्तिअ-
२१२ २१२ २१२ २१२
*जैसि कश् / मीरि झी / लों कि आ / गोश में
नन् हि नन् / हें सि ता / रे उ तर् / आय हों ।
उपर्युक्त गजलका शेरहरू हिन्दी-व्याकरणसम्मत भए पनि मात्रा गिरावटका दृष्टिले अपठनीय र दुरूह देखिन्छन् । पाणिनिको व्याकरणको सम्पर्कमा रहेका देवनागरी लिपिका नेपालीभाषीले ह्रस्ववर्णलाई दीर्घ र दीर्घवर्णलाई ह्रस्व अनि अजन्तवर्णलाई हलन्तोच्चारणमा राखेर मात्रा गिरावट सम्बन्धी लचकताको सुविधा लिए पनि लेख्यरूप भने नेपाली व्याकरणमुताबिक नबनाई सुख छैन ।नेपाली जिब्रोले हिन्दी-उर्दूभाषीले जस्तो ‘जैसे’ लाई ‘जैसि’ मा उतारेर स्रग्विणीछन्दको लय टिप्न सक्दैन । नेपाली व्याकरण नेपालीभाषाको प्राण हो अतएव त्यतिमात्र लचकताको प्रयोग गरिनुपर्छ जतिले भाषाको निजत्वमा असर पर्दैन ।
४ . वार्तमानिक परिप्रेक्ष्यमा गजलको स्थिति :
प्रगतिशील र प्रगतिवादमा केही अन्तर छ । प्रगतिशीलले प्रगतितिर उन्मुख हुनुलाई अभिव्यक्त गरेझैं प्रगतिवादले वर्गविभेद र खास गरी कला साहित्यका सन्दर्भमा राजनीतिकधारा र विचारधारालाई अघि सारेको देखिन्छ । मार्क्सवादले जीवन र जगत् को विश्लेषण गरेझैं चेतनशील साहित्यकारले पनि गजल-सृजनाका माध्यमबाट राजनीतिक व वैचारिक चिन्तनलाई विषय बनाएको पाइन्छ । विक्रमाब्द १९९७ देखि २००७ सालको जनक्रान्ति अवधिभरिको लगभग बाह्रवर्षको समकालीनता निष्क्रिय रह्यो । यसै गरी ००७-०१७ वा ०१७-३५ अवधिमा गजलले चेतनाको दृष्टकोणले बिउँझने मेसो पाएन । २०३६ देखि २०४६ सालको समयावधिमा बिउँझिई धावनमा गति लिंदै शृङ्गारिक भावधाराभित्रको ‘प्रणयपुराण ‘ लाई हिन्दी र उर्दूका शायरहरूले झैं नेपाली गजलकारहरूले युगचेतनाको सृजनामा रूपान्तरित गरी २०४७ देखि ०५२-०६२ हुँदै ०८० सम्म आइपुग्दा हिजोका तिनै आन्दोलनका अगुवाहरूको सत्तामा हाली-मुहाली भई देश र जनतालाई कमजोर र जर्जर अवस्थामा पुर्याएपछिका आवाजहरूमा गजल घन्काउँदै छन् जसरी कि हिजो अङ्ग्रेजहरूको शासनलाई भारतीय क्रान्तिकारी विद्रोहीहरूका रचनाहरूले नराम्ररी हल्लाइदिएका थिए ।
‘शरफरो़शी की तमन्ना अब हमारी दिल में है
देखना है जोर कितना बाजू-ए-कातिल में है ।’
‘ म ख दू म ‘ नामका प्रसिद्ध उर्दूका गजलकार जसले तेलङ्गाना आन्दोलनमा भाग लिएका थिए । उनका गजलहरूबाट प्रभावित भएर फैज अहमद फैजले लेखेका थिए-
‘कटते भी चलो,बढते भी चलो, बाजू भी बहुत हैं सर भी बहुत
चलते भी चलो, के अब डेरे मंजिल ही पे डाले जायेंगे ।’
>•<
आजको नेपाली गजलसाहित्यमा प्रगतिशील विचारधाराकै बढी बाहुल्य देखिन्छ । नेपाली शासकहरूबाट नेपाली जनताका मौलिक हक अधिकार खोसिंदा सडककविताका माध्यमबाट गगनभेदी आवाजमा माटो दुखेको असहनीय पीडालाई सशक्तरूपमा उजागर गर्दै आएका छन् ।
हेरौं केही नमुनाहरू-
सक्छौ भने थुनी राख जेल पनि मन्जुर छ मलाई
सागर खोज्दै लहराउने साउनको भेल पनि मन्जुर छ मलाई ।
-प्रेमविनोद नन्दन , भीडमा एक्लै एक्लै , पृ ८४ ।
मान्छेसित मानिसको हराएछ नाता
जमानाले बाँडेको छ जहर आजभोलि ।
गोविन्दराज विनोदी , निर्मम निर्मम घडीहरू , पृष्ठ-३ ।
यहाँ नयाँ क्रान्ति आयो उमङ्गिंदै छचल्किंदै ,
अजस्रको जोश ल्यायो तरङ्गिंदै मचल्किंदै ।
-केशवराज आमोदी , जल-तरङ्ग ( सिद्धान्त र प्रयोगमा आधारित गजलकाव्य, दोस्रो संस्क.२०७२ ) पृ.६१
ज्वालामुखी फुट्छ अब मान्छे हुन्छ आगो यहाँ
समयको हातमा दही जमाउन सक्दिन म ।
नेत्र एटम , भित्र कतै दुख्छ भने , पृ. १९ ।
अहो ! कत्रो बदलाब आयो यसपालि
साँच्चिकै इन्कलाब आयो यसपालि ।
-पुष्प अधिकारी अञ्जलि , स्रष्टा ( अङ्क- ३, पृ. ९१ ।
होली चल्यो रगतको पहाडदेखि तराईसम्म
आजभोलि त मौसम फागुनजस्तै लाग्छ ।
-बुद्धिसागर चपाईँ , शब्दाङ्कुर , ( गजलविशेषाङ्क, पृ. २८
गरौं के भरोसा बढे राष्ट्रघाती
चपाएर बोल्छन् कुरा भाँति-भाँती ।
– विमला पोखरेल , राष्ट्रिय बहरमाला २, पृ. १९७ ।
आजकल जनावरले मान्छेलाई अलमलाएको छ
पशुपतिनाथको देश हो बाँदरले देश चलाएको छ ।
-मैयाँ लामिछाने , हैसियत ( भाग-५ ) पृ. ३६१ ।
‘हो काँगडा र टिस्टा पुर्खाको पुरै चिनारी हो !
आराममा भुल्यौ यो देश, सिंगापुरे पुजारी हो ।’
-अम्बिका पोखरेल कार्र्की अमू , राष्ट्रिय बहरमाला ,पृ.२७८
५. उपसंहार :
राष्ट्र , राष्ट्रियता , स्वाधीनता , मानवाधिकार , सीमातिक्रमण , राजनीतिक भ्राष्टाचरण , कालोबजारी , तस्करी , युवाहरूको वैदेशिक पलायन , राष्ट्रिय ढुकुटीको दोहन , माफियाहरूको बिगबिगी , धार्मिक र सांस्कृतिक द्वन्द्व आदि तमाम विकृति र विसङ्गतिप्रति आजको गजल कुर्लिरहेको छ ।
अन्त्यमा हिजोसम्म साम्यवाद र समाजवादको नारा दिएर जनतालाई क्रान्तिको अग्नि-कुण्डमा होम्नेहरू सत्ताका मादले अन्धा भएर लुटतन्त्र मच्चाइरहेका छन् ।यिनै सत्तालोलुप लेन्डुपेहरूको क्रियाकलापबाट वाक्कदिक्क भएका राष्ट्रभक्तहरूले सशक्तरूपमा चेतनामयी गगनभेदी स्वरमा गाँउ सहर सबैतिर आवाज बुलन्द गरेका छन् र शहीदका सपनालाई उपेक्षा गरी जनता र देशलाई लुट्ने यो क्रम बन्द नभएसम्म तिनका अझ धारिला रचनाहरू असिना बनेर बर्सिरहने छन् ।
६. सन्दर्भ सूची :
आमोदी , केशवराज , गजल-ए-महफिलको रङ्गतरङ्ग र
अञ्जलिको गजल अनुराग , महफिल-ए-गजल ( संयुक्त
गजलसङ्ग्रह ) , सम्पा. पुष्प अधिकारी अञ्जलि २०८९
————– बहर वाटिका ( गजलसिद्धान्त र प्रयोग
२०६९ ) पल्लव साहित्य प्रतिष्ठान , चितवन
तिवारी , भोलानाथ ( ई. १९९२ ) भाषाविज्ञान ( प्रथम
संस्करण १९५१ ) किताब महल , इलाहबाद
निश्तर , खानकाई र अग्रवाल , गिरिराज शरण , गजल और
उसका व्याकरण , बिजनौर : हिन्दी साहित्य निकेतन, ई.
१९९९
बन्धु , चूडामणि ( सम्पा. ) नेपालमा प्रचलित प्रमुख
लिपिहरू स्थिति समस्या र समाधान , अक्षर सदन २०७४
मद्दाह , मुहम्मद मुस्तफा खाँ , उर्दू हिन्दी शब्दकोश ( अष्टम
संस्क. १९९७ ई. ) उत्तर प्रदेश हिन्दी संस्थान लखनऊ
•••
साभार : प्रकाश पुञ्ज / वीरेन्द्र बहुमुखी क्याम्पस , चितवन
[भुमण्डल नेटवर्क प्रा.लि. द्वारा प्रकाशित श्रीखबर अनलाइन सञ्चार]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0