ठेक्का प्राप्त कम्पनीसंग आइतबार नै सम्झौता गर्ने तयारी गरेको छौं

 

२०८१ असार २१,शुक्रबार

चितवन। गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रँगशालाकाे निर्माण कार्य अघिबढ्ने भएकाे छ ।

महानगरले रंगशाला निर्माणका लागि दोस्रो पटक बोलपत्र आह्वान गर्दा हिमालयन कालिञ्चोक बीबीआर जेभी कम्पनीलाई छनोट गरेको थियो । सो कम्पनीको नाममा सात दिने आसयपत्र जारी गरेकोमा उक्त अवधि आज शुक्रबार सकिएको छ । यस समय अवधि भित्र कुनै उजुरबाजुर नभएकाले आइतबार निर्माण सम्झौता गर्ने तयारी गरिएको महानगरका वरिष्ठ इञ्जिनियर सन्तोष आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए । ‘उजुरी दिने समय शुक्रबारसम्म थियो, त्यस अवधि भित्रमा कुनै उजुरी परेन’ आचार्यले भने ‘ठेक्का प्राप्त कम्पनीसंग आइतबार नै सम्झौता गर्ने तयारी गरेको छौं ।’
महानगर प्रमुख रेनु दाहालले असार भित्रै काम अघि बढाउने गरी सम्झौता हुने  बताउँदै आउनुभएकाे थियाे ।रंगशालामा मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३/३ तलाको टावर बनाइने छ । एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । धुर्मुस–सुन्तली फाण्डेशनले निर्माण कार्य रोक्नुअघि ५ हजार क्षमताका प्याराफिट निर्माण भइसकेको छ ।

रंगशाला निर्माणको काम सम्झौता भएको दिनदेखि २६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण लागत भ्याट र पीएस बाहेक ६८ करोड २ लाख ६४ हजार २ सय ७ रुपैयाँ ८४ पैसा छ । पहिलोपटक टेण्डर आह्वान गर्दा एउटा मात्रै कम्पनीले टेण्डर हालेपछि रद्द गरिएको थियो । दोस्रो पटक आह्वान गर्दा १२ वटा कम्पनीहरुले टेण्डर हालेका थिए । त्यसमध्ये हिमालयन कालिञ्चोक बीबीआर जेभी छनोट भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0