२०८१ असार १०, साेमबार

प्रकाशबाबु खनाल,

चितवन । रत्ननगरकाे नीति तथा कार्यक्रम पारितसँगै पालिकाकाे आगामी एक वर्षका लागि एक अर्ब ४३ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरेकाे छ ।

नगरप्रमुख प्रल्हाद सापकोटा द्वारा आर्थिक वर्ष २०८१/८२ को प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएकाे हाे ।

सापकोटाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रमको समीक्षा गर्दै फोहोरमैला व्यवस्थापन, बजार सरसफाइ तथा सौन्दर्यकरणमा परिवर्तन भएको बताउनुभयाे ।

त्यसै गरि प्रमुखले नगरकाे गौरव आयोजनाका रुपमा कृष्णसार व्यवस्थापन निर्माण सम्पन्न, रत्ननगर हरियाली पार्कको ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको, वर्षौंदेखि अतिक्रमणको जोखिममा रहेको लौरीघोल तालको संरक्षणका लागि ब्रेक थ्रु गरिएको र पन्चनदी क्षेत्रको संरक्षण कार्य आरम्भ भएको  बताउनुभयाे ।

यस्तै, एक वडा एक व्यायामशाला निर्माण गरी नागरिकको स्वास्थ्य प्रवद्र्धन गरिएको, शैक्षिक गुणस्तर कायम भएको र वडा नं १२ मा भूमिहीन सुकुमबासीमध्ये १६५ जनाको जग्गाधनी प्रमाणपूर्जा वितरणको लागि तयारी गरिएको जानकारी दिनुभयो  ।

प्रमुख सापकोटाले  ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’ भन्ने सोचका साथ पर्यटकीय क्षेत्रको थप विकास, विस्तार र प्रवद्र्धन गर्ने रणनीति अवलम्बन गरेको बताउँदै आथिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियाे ।

नगर उपप्रमुख एवं कार्यक्रम तथा बजेट तर्जुमा समिति संयोजक यादवप्रसाद पाठकले पन्ध्रौँ नगरसभामा आगामी बजेट सार्वजनिक गर्नुभएकाे थियाे ।

पालिकाले चालु आवभन्दा दुई करोड ९६ लाख कम बजेट ल्याएको छ । चालु आवका लागि नगरले एक अर्ब ४६ करोड ४९ लाख २६ हजार संशोधित बजेट विनियोजन गरेको थियो ।कुल विनियोजित रकममध्ये चालूतर्फ ९४ करोड ६७ लाख ३४ हजार रहेकोमा ५९ करोड ३० लाख ८० हजार खर्च भएको छ । जसमा सामाजिक सुरक्षा र शिक्षक कर्मचारीको तलब समावेश गरिएको छैन ।

यस्तै, पुँजीगत खर्चतर्फ ६६ करोड २१ लख ६५ हजार विनियोजन भएकोमा ४० करोड ४५ लाख ८७ हजार अर्थात् ८० प्रतिशत खर्च भएको छ । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ६० करोड ८९ लाख प्रस्तावित बजेट अनुमान गरेकोमा १४ करोड ३९ लाख ७४ हजार अर्थात् २६.४४ प्रतिशत बजेट कटौती भई राजस्व बाँडफाँटको रकम सिलिङबमोजिम प्राप्त नहुँदा संशोधित बजेट एक अर्ब ४६ करोड ४९ लाख २६ हजारमात्र विनियोजन भएको थियो ।

नगरपालिकाले आन्तरिक आयतर्फ पनि लक्ष्यअनुरुप रकम उठाउन नसक्दा विकास निर्माणलगायत वडा बजेटको सिलिङमा समेत प्रभावित भएको उपप्रमुख यादवले बताउनुभयाे  ।

२०८१/८२ का लागि आन्तरिक राजस्वबाट कुल आम्दानी १३ करोड २० लाख रुपैयाँ, आन्तरिक संचित कोष दुई करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँटबापत १२ करोड ७८ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदान १८ करोड ६६ लाख रुपैयाँ र सशर्त चालू तथा पुँजीगत अनुदान ३७ करोड ३३ लाख रुपैयाँ, विशेष अनुदान दुई करोड २० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ तीन करोड २० लाख रुपैयाँ गरी संघीय सरकारबाट कुल ६१ करोड ५९ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, बागमती प्रदेश सरकारबाट राजस्व बाँडफाँटबापत ११ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबापत एक करोड ९५ लाख १९ हजार रुपैयाँ, सशर्त चालू तथा पुँजीगत अनुदानतर्फ ६ करोड ५६ लाख रुपैयाँ, समपूरक अनुदान ३ करोड र विशेषतर्फ ६५ लाख गरी १२ करोड १६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

सडक बोर्डतर्फ एक करोड र अन्य अनुदान तथा सामाजिक सुरक्षाबाट ३० करोड आम्दानी हुने अनुमान गरिएको उपप्रमुख यादवले बताउनुभयाे  ।

विनियोजन विधेयेक–२०८१ सर्वसम्मतबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत सुवदेव लम्सालले जानकारी दिनुभयो   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0