२०८१ जेष्ठ १०,बिहिवार
चितवन। नेकपा एमाले चितवनको ११औं जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने हुनुभएकाे छ। एमाले चितवनले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको तयारी पुरा भएको जनाएको छ।
जेठ १४ गतेसम्म चल्ने जिल्ला अधिवेशनले पार्टीको जिल्ला नेतृत्व सहित सिंगो कमिटी चयन गर्ने जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
जिल्लाका सात पालिका, विभिन्न जनवर्गीय संगठन, सम्पर्क मञ्च लगायत गरी ७३२ जना र २९ मनोनित गरी ७६१ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् जनाइएको छ ।
अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र दुई जना उपसचिव सहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ भने जिल्ला कमिटीमा कम्तिमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ ।
अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष न्यौपानेको संयोजकत्वमा ४९९ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ भने अध्यक्षकै संयोजकत्वमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति बनेकाे छ ।
यसैगरि उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन उपसमिति, सचिव प्रकाश खनाल शैलेशको संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, भक्तिप्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको छ ।
अधिवेशनकाे अबसरमा १२ गते विहान अनेरास्ववियु चितवन र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीकाे आयाेजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
सकेसम्म सर्वसम्मतबाट नेतृत्व चयन गर्ने बताईए पनि अध्यक्षका लागि बर्तमान अध्यक्ष न्यौपाने सहित उपाध्यक्ष पाठक, पार्टीका नेताहरु कृष्णप्रसाद भूर्तेल र तेजेन्द्र खड्का समेतले आकाक्ष राखेकाे बताएका छन् ।