२०८१बैशाख ३०, आइतबार

प्रकाशबाबु खनाल,चितवन

कालिका । कालिका नगरपालिकाले गत आर्थिक वर्षको बजेट मार्फत नगर भित्रका ४४ जना विपन्न एकल महिलालाई बाख्रा बितरण गरेको थियो । वितरण गरिएको बाख्राको आईतवार अनुगमन गरिएको छ ।

नगर उपप्रमुख बिमला तामाङ, आर्थिक विकास शाखा प्रमुख प्रकाश चन्द्र पौडेल, महिला बाल बालिका शाखा प्रमुख सम्झना ढकाल, महिला निरीक्षक सविना श्रेष्ठका साथै एकल महिला नगर संयोजक राधिका अर्याल सहितकाे टोलिले अनुगमन गरेको हो ।

कालिका वडा नम्बर ९, १० र ११ मा एकल महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने उद्देश्यले उन्नत जातका वितरण गरिएको बाख्राको अनुगमन गरिएको हो । नगरका एकल महिलाका लागि वडा कार्यालयको सहयोगमा निःशुल्क बाख्रा वितरण गरिएको थियो ।

उपप्रमुख बिमला तामाङकाअनुसार नगरले वडा कार्यालय मार्फत उन्नत जातको बाख्रा निःशुल्क वितरण गरेपछि लाभग्राही महिलाको आर्थिक स्तर उकास्न सहज भएको बताउनु भयो ।

नगरले दिएको बाख्रा वडा कार्यालयबाट पाएपछि थोरै भए पनि राहतको महसुस गरेको लाभग्रहीले बताए।

निःशुल्क उपलब्ध गराएको बाख्रा आफ्नो घरमा पालेको हुनुपर्ने शर्त छ  ।

समय–समयमा हुने अनुगमनका क्रममा घरमा बाख्रा नपालेको पाइएमा वडा कार्यालयबाट प्रवाह हुने अन्य सेवा–सुविधा सबै रोक्का हुनेबारे सम्बन्धित महिलालाई सचेत गराएरै बाख्रा वितरण गरिएको उपप्रमुख तामाङले बताउनुभयो  ।

आर्थिक समृद्धिको आधार व्यवसाय भएकाले गत वर्ष वितरण गरेका बाख्राबाट आम्दानी गरेको देख्ने आफूहरूको चाहना भएको उहाले बताउनुभयो । आफूहरू सधैँ किसानका पक्षमा रहेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाले व्यक्त गर्नुभयो ।

आइतवार अनुगमनका क्रममा वितरण गरिएका बाख्राहरूले पाठा, पाठी जन्मााईसकेकाेले विपन्न एकल महिलाहरूको आर्थिक सुधार आउने छनक मिलेकाे महिला बाल बालिका शाखा प्रमुख सम्झना ढकालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०/८१ मा कालिका नगरपालिकाका १ देखि ११ वटै वडाका पहिले बितरण गरिएका बाहेक अन्य ५५ जना विपन्न एकल महिलालाई बाख्रा बितरण गर्ने तयारी भईरहेको ढकालको भनाईछ ।

गत वर्ष विपन्न एकल महिलाहरुलाई तालिम दिएर बाख्रा बितरण गरिएको थियो भने यस वर्ष पनि तालिममा सहभागी गराएर मात्र बाख्रा बितरण गरिने उहाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0