२०८१बैशाख १९,बुधबार
प्रकाशबाबु खनाल
रत्ननगर,चितवन । साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनले “विश्वका मजदुर एक हौं” “मजदुरको पसिनाको मुल्यको सम्मान गरौं” भन्ने नाराका साथ १३५औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको छ ।
संघले रत्ननगर नगरपालिकामा एक कार्यक्रमको अयोजना गर्दै बुधवार श्रमिक दिवस मनाएको हो । उक्त कार्यक्रममा बोल्दै रत्ननगरका नगर उपप्रमुख यादव प्रसाद पाठकले सर्वप्रथम आफुले गरिरहेको पेशा प्रति आफुले गर्व गर्नु पर्ने बताए ।” आफुले गरिरहेको कामको बारेमा खुलेर भन्न र गर्वका साथ गर्न सबै भन्दा पहिला आफुमा आत्मसम्मान हुन जरुरी छ,” उपप्रमुख पाठकले भने ।
“निर्माण कम्पनीमा काम गर्ने लेबरलाई हप्काएर काम लगाउने गरेको पाईन्छ, उनीहरुलाई पनि सम्मान गर्नुपर्छ, काम सानो, ठूलो हुदैन, सबैको पेशा प्रति सम्मान गर्नुपर्छ ।”-पाठकले भने ।
कार्यक्रममा जीवन थापा लामा, श्याम कृष्ण श्रेष्ठ, मान वहादुर शाही ठकुरी सहित तीन जना साना निर्माण व्यवसायी मजदुरहरुलाई नगद सहित सम्मान गरिएको थियो ।
साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, निर्माण व्यवसायी संघ चितवनका वरिष्ठ सल्लाहकार प्रलाद ठाकुर, साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवन उपाध्यक्ष मदन पासवान, पूर्वी चितवन भवन निर्माण व्यवसायी संघका अध्यक्ष याम बहादुर श्रेष्ठ, सदस्य ओम प्रकाश रेग्मी, चितवन स्वरोजगारका अध्यक्ष कृष्ण वहादुर श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए ।
महासचिव पूर्ण वहादुर राईले सञ्चालन गरेको कार्यक्रममा साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनका निवर्तमान अध्यक्ष उत्तम घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।