२०८० फागुन १३, आइतबार

रोहिणी त्रिपाठी

निर्माणाधीन  त्रिशूली हाइड्रोले र्‍याफ्टिङ  व्यवसायमा संकटमा पर्ने भन्दै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा शनिबार भएको सार्वजनिक सुनुवाईमा उपस्थित जनप्रतिनिधि, राफ्टिङ व्यवसायी र नदी संरक्षणकर्मीहरुले यस्तो बताएका हुन् ।

सुनुवाइमा उपस्थित प्रदेश सांसद कृष्ण सिलवालले विकासको नाममा पर्यावरण र नदीको अस्तित्व संकटमा पर्न नहुने बताए । उनले यसलाई रोक्न आफूले सक्दो पहल गर्ने विचार राखे ।

त्यस्तै कार्यक्रममा नेपाल र्‍याफ्टिङ एशोसिएसनका अध्यक्ष शिव अधिकारीले निर्माणाधीन  हाइड्रोले नदी किनारका ८४ वटा कम्पनी संकटमा पर्ने विचार राखे । उनले भने, ‘ होटल व्यवसाय, राफ्टिङ र अन्य कम्पनीको गरी अरबौं लगानी संकटमा पर्छ । राफ्टिङ पूर्णतया बन्द नै हुन्छ । ३५ सय गाइड र दश हजार मानिसको पेसा संकटमा पर्छ । विकासको नाममा मजदूरको रोजीरोटी खोसिनु हुँदैन ।’

त्यसैगरी नेपाली नदी संरक्षण संस्थाका अध्यक्ष तथा नदी अभियन्ता मेघ आलेले यती धेरै पर्यटकले देख्ने राष्ट्रको सम्पदा त्रिशूली नदी संकटमा पार्न नहुने बताए । उनले भने, ‘ म विकास विरोधी भने होइन । नदी सुकाएर गरिने विकास दूभाग्यपूर्ण छ । ’ सार्वजनिक सुनुवाईमा सांसद सिलवालसहित स्थानीय जनप्रतिनिधिले यो विषयलाई सडकदेखि सदनसम्म पु¥याउनुपर्ने बताए । सुनुवाईमा स्थानीय प्रतिनिधिले नदीलाई जोगाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा)ले जथाभावी हाइड्रोपवार निर्माणसँगै जलयात्रा पर्यटन व्यवसायीको सम्पूर्ण लगानी डुब्ने अवस्थामा पुगेको भन्दै यसअघि विरोध गर्दै आएको थियो । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलामा निर्माणाधीन १०० मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले जलयात्रा पर्यटन संकटमा पर्ने देखिएको छ ।

नेपालमा आउने ९० प्रतिशत पर्यटकले त्रिशूली नदीमा र्‍याफ्टिङ  गर्न जाने व्यवसायीले जनाएका छन् । नेपालको नदीमध्ये त्रिशूली महत्वपूर्ण नदी हो । यसलाई मास्न खोजिएको भन्दै व्यवसायीले आपत्ति जनाएका हुन् ।

त्रिशूली सरकारले र्‍याफ्टिङका लागि खुला गरेका विभिन्न १६ नदीमध्येको प्रमुख गन्तव्य हो । र्‍याफ्टिङ, रिसोर्टलगायतमा ५ अर्ब लगानी छ । जसमध्ये ३० प्रतिशत त्रिशूली नदी भित्र छ । यहाँ हाइड्रोपावर बनाउँदा पानी सुकेर अर्बौ लगानी डुब्ने देखिन्छ ।

नेपालमा जलविद्युत् निर्माणका लागि सम्भाव्य अन्य नदीनाला भए पनि जलयात्राका लागि पर्यटकको पहिलो रोजाइमा रहेको त्रिशूली नदीको यस क्षेत्रमा हाइड्रोपवार निर्माण गर्दा हजारौँको रोजगारी गुम्ने र आगामी दिनमा समेत गुम्र्दै जाने व्यवसायीको चिन्ता छ । नारा, एचआरजीएन,नेपाल रिभर कन्जरभेसन ट्रष्ट, नेपाल राफ्ट एण्ड कएक क्लब फिस्लिङले समेत त्रिशूलीमा निर्माण सुरु भएको हाइड्रोपावरको विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0