१७ चैत २०७९, काठमाडौं।
एडीबी, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल सरकार र नास्टको आयोजनामा Accelerating Sanitation for All in Asia and the Pacific (Nepal Project) को एडीबी सेनिटेसन ह्याकाथन अप्रिल २७-२९, २०२३ मा आयोजना हुदैछ ।
एडीबी सेनिटेसन ह्याकाथनले नेपालभरका आविष्कारकहरूलाई रचनात्मक टेक्नोलोजी बिकास गर्न टीमवर्कको माध्यमबाट देशमा सरसफाइ कर्मचारीहरूको सुरक्षा र मर्यादामा सुधार गर्ने उद्देश्यले प्राविधिक समाधानहरू विकास गर्न प्रेरित गर्दछ ।
यो ह्याकाथन एडीबी प्राविधिक सहायता कार्यक्रम मध्येको एक सानो हिस्सा हो जसले एसिया र प्रशान्त क्षेत्रका सबैका लागि सरसफाइ क्षेत्रलाई परिष्कृत बनाउन खोज्दैछ, र नेपाल त्यस्ता सहभागी देशहरूमध्ये एक हो।
ह्याकाथनको सम्पूर्ण व्यवस्थापन रोबोटिक्स एसोसिएसन अफ नेपालले गर्दैछ भने एडीबीको अनुदान सहयोग रहेको छ।
यस ह्याकाथनको लक्ष्य नेपालमा सरसफाई कामदारहरूको स्वास्थ्य, सुरक्षा, कल्याण र कामको अवस्थालाई सुधार गर्न सक्ने नवीन आइडियाहरू वा प्राविधिक समाधानहरू सहितको स्टार्ट-अप कम्पनी पहिचान गर्नु हो।
प्रतिस्पर्धात्मक छनोट प्रक्रिया मार्फत, हामी एक स्टार्टअप वा स्टार्टअप जेभि पहिचान गर्नेछौं जसले परियोजनाको विज्ञ परामर्शदाता इन्जिनियर, व्यवस्थापन कार्यालय (PMO), नास्ट र अन्य सरोकारवालाहरूसँग मिलेर काम गर्नेछ।
यस परियोजनाले उक्त प्राविधिक समाधानहरू आविष्कार/विकास/हस्तान्तरण गर्दै हाललाई दुई वटा शहर भरतपुर र नेपालगन्जमा सुरुवात गरेर सरसफाइ कार्यलाई सम्मानित र सुरक्षित पेशाको रुपमा रूपान्तरण गर्न मद्धत गर्ने लक्ष्य राखेको छ।
ह्याकाथनले सम्भावित आविष्कारकहरूको पूर्व-छनोट र छोटो-सूची, अभिमुखीकरण सत्रहरू, नवीन आइडियाको पिचिङ, स्थानीय डिजाइन प्रदर्शनहरू, र आधुनिक प्रविधि पहिचान सहितको ह्याकाथनजस्ता विभिन्न गतिविधिहरू प्रस्तुत गर्नेछ।
यो कार्यक्रम एक महिनाको अवधिमा सञ्चालन हुनेछ, र नेपालभरका आविष्कारकहरूलाई सहभागी हुन प्रोत्साहित गरिन्छ। ललितपुरको NAST को प्राङ्गणमा गरिने उक्त कार्यक्रममा उपस्थित हुनका लागि देशभरबाट उत्कृष्ट १० चयन गरिएकाहरूलाई यात्रा र अन्य आधारभूत खर्चको व्यवस्था गरिनेछ।
ह्याकाथनको निर्णायक मण्डलमा विभिन्न क्षेत्रका प्राविधिक आविष्कारक विज्ञहरू र नवप्रवर्तन व्यवस्थापन क्षेत्रका पेशाकर्मी रहनेछन्।
१० उत्कृष्ट स्टार्टअपले आफ्नो मोडेल विकासका लागि $५०० रकम तथा विजेता समूहले $४०,००० अनुदान प्राप्त गर्नेछन् र त्यो अनुदानबाट प्रविधि विकास गरी नेपालगन्ज र भरतपुर दुईटा सहरमा प्रयोग गरेर देखाउनुपर्नेछ ।
नेपालभरीका युवा विद्यार्थी, इन्नोभेटर, नवप्रवर्तानत्मक कम्पनी र स्टार्टअप कम्पनिहरुले आफ्नो आईडियालाई adbhackathon.org मा गएर पेश गर्न सक्नेछन ।